६ मंसिर २०८३, आईतवार

 

बुर्तिबाङ बजारबाट नेकपाको राष्ट्रिय जागरण अभियान सुरु

बागलुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जरा र टुप्पो नभएको आकाशबेली झारजस्तै रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टी ढोरपाटन नगर समितिले बुर्तिबाङ बजारबाट सुरु गरेको प्रशिक्षण तथा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले रास्वपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउनुभएको हो ।

दीपशिखाले रास्वपालाई आकाशबेली झारको संज्ञा दिँदै यसको राजनीतिक आधार र गन्तव्य स्पष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँले संसद् भवन र सिंहदरबारजस्ता राज्यका महत्वपूर्ण संरचनामा आगजनी गरिएको प्रसंग उठाउँदै ती संरचना जलाउनुको औचित्यबारे प्रश्न गर्नुभयो ।

‘सिंहदरबार र संसद् भवन किन जलाएको ? त्यहीँ बस्ने हो भने किन जलाउने ? आकाशबेली झारले जहाँ जान्छ, त्यहीँको वनस्पति मार्छ भनेजस्तै जरा र टुप्पो नभएको पार्टी हो रास्वपा । कहाँबाट हुर्कन्छ, कहाँबाट फैलिन्छ भन्ने टुङ्गो हुँदैन,’ उहाँले भन्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टी ढोरपाटन नगर समितिले आयोजना गरेको अभियानको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय जागरणका विषयमा नेता तथा कार्यकर्तालाई प्रशिक्षित गरिने जनाइएको छ ।

प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज कमल घिमिरे, जिल्ला सहइन्चार्ज फमलाल निउरे र ज्ञामनाथ गैरे ‘अनिल’, जिल्ला संयोजक प्रकाश घर्ती तथा क्षेत्र नं. २ का इन्चार्ज दिलबहादुर पुनले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं ढोरपाटन नगर समिति इन्चार्ज चन्द्र अर्यालको अध्यक्षता, प्रदेश सदस्य केशर छन्त्यालको स्वागत मन्तव्य र ढोरपाटन नगर समिति संयोजक हेमेन्द्र घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung