२१ आश्विन २०८३, बुधबार

 

विश्व मानसिक स्वास्थ्य दिवसमा बागलुङमा तीन दिने विशेष अभियान हुने

बागलुङ । ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङले तीन दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।

खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गतेसम्म ९अक्टोबर ७ देखि ९० सञ्चालन हुने अभियान बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो।

विपद्पछिको मनोसामाजिक सहारा, युवामा बढ्दो तनाव तथा डिजिटल कुलत नियन्त्रण र आत्महत्या रोकथामका लागि जिम्मेवार मिडिया रिपोर्टिङलगायत संवेदनशील विषयमा समुदायलाई सचेत र सक्षम बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो।

कार्यक्रमअन्तर्गत पहिलो दिन असोज २२ गते जलजला गाउँपालिका–८ फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा ‘मनोवैज्ञानिक प्राथमिक उपचार ९एँब्० तथा मनोसामाजिक सुस्वास्थ्य सचेतना कार्यक्रम’ सञ्चालन गरिनेछ। हालै बाढीबाट प्रभावित क्षेत्रमा आयोजना हुने कार्यक्रममा विपद्का कारण बालबालिका तथा शिक्षकमा परेको मानसिक असर, डर र त्रासलाई सामान्यीकरण गर्दै पुनर्लाभका लागि सहयोग पुर्‍याउने विषयमा सहजीकरण गरिनेछ।

दोस्रो दिन असोज २३ गते धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवाका लागि ‘तनाव व्यवस्थापन तथा डिजिटल कुलत सचेतना कार्यशाला’ आयोजना गरिनेछ। क्याम्पस जीवनमा हुने तनाव, परीक्षा तथा भविष्यप्रतिको चिन्ता व्यवस्थापनका साथै मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगिने व्यवहारिक उपायबारे जानकारी दिइनेछ। कार्यक्रममा ‘डिजिटल डिटक्स’ र ‘डिजिटल वेलबिइङ’ सम्बन्धी व्यवहारिक अभ्याससमेत गराइने आयोजकले जनाएको छ।

तेस्रो दिन असोज २४ गते विश्व मानसिक स्वास्थ्य दिवस तथा अभियानको समापनका अवसरमा बागलुङका क्रियाशील पत्रकारसँग ‘आत्महत्या तथा आत्महानिसम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ र पत्रकारका लागि मनोवैज्ञानिक प्राथमिक उपचार’ विषयक अन्तरक्रियात्मक तालिम आयोजना गरिनेछ।

आत्महत्याका घटनालाई सञ्चार माध्यमले रिपोर्ट गर्दा अपनाउनुपर्ने संवेदनशीलता, जिम्मेवार पत्रकारिता तथा पत्रकार स्वयंको मानसिक स्वास्थ्य व्यवस्थापनका विषयमा तालिम तथा छलफल गरिनेछ। सोही अवसरमा औपचारिक कार्यक्रमबीच तीन दिने अभियानको समापन गरिने आयोजकले जनाएको छ।

खुसी मन बागलुङले मानसिक स्वास्थ्यका क्षेत्रमा निरन्तर सचेतना, परामर्श तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले तीन दिने अभियानमा सरोकारवाला, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung