२२ आश्विन २०८३, बिहीबार

 

विपद् प्रभावित क्षेत्रमा मनोसामाजिक सचेतना, जलजलामा त्रिदिवसीय अभियान सुरु

बागलुङ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई लक्षित गरी छुट्टाछुट्टै सत्रमा कार्यक्रम सञ्चालन गरिएको हो।

हालैको बाढी तथा प्राकृतिक विपत्तिका कारण बालबालिका तथा शिक्षकमा देखिएको डर, त्रास, तनाव र मानसिक असरलाई कम गर्दै उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियानको पहिलो दिन फर्से क्षेत्रलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव योगराज कँडेलले शिक्षकहरूका लागि अध्यापनका क्रममा उत्पन्न हुने तनाव व्यवस्थापन, मनोसामाजिक रूपमा स्वस्थ रहने उपाय तथा आपत्कालीन अवस्थामा विद्यार्थीलाई दिनुपर्ने प्राथमिक मनोवैज्ञानिक सहयोग ९एँब्० का विषयमा सहजीकरण गर्नुभएको थियो।

त्यसैगरी विद्यार्थीहरूका लागि खुसी मन बागलुङका कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले टोली कार्य, कथा वाचन तथा संवादका माध्यमबाट डर र तनाव व्यवस्थापन गर्ने तथा सकारात्मक सोचको विकास गर्ने उपायबारे सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य तथा खुसी मन बागलुङकी सदस्य ज्योति केसी विष्टले स्थानीय तहले समयको मागअनुसार मानसिक स्वास्थ्यका सवाललाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले आगामी दिनमा स्थानीय तहहरूले यस्ता कार्यक्रमको आवश्यकता महसुस गर्दै खुसी मन बागलुङजस्ता संस्थासँग आवश्यक समन्वय र सहकार्य गरेर मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै लायन्स इन्टरनेसनल ३२५ के नेपालकी डिस्ट्रिक्ट पीआरओ लायन सावित्री केसी र लायन्स क्लब अफ बागलुङ सिटीजनकी अध्यक्ष लायन प्रिया किसानले प्राकृतिक विपत्तिको असर भौतिक संरचनामा मात्र नभई मानिसको मन र मस्तिष्कमा अझ गहिरो रूपमा पर्ने बताउनुभयो।

उहाँहरूले विपद्बाट प्रभावित विद्यार्थी तथा शिक्षकका लागि कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको उल्लेख गर्नुभयो। विद्यालयका प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले बाढी प्रभावित क्षेत्रका विद्यार्थीको अवस्थालाई बुझेर विद्यालयमै आएर महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा संयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विद्यार्थी मानसिक रूपमा स्वस्थ रहेमा मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सम्भव हुने बताउनुभयो। तालिममा सहभागी शिक्षक शिव गौतम र रेजिना मल्लले कार्यक्रमले आफू स्वस्थ रहँदै विद्यार्थीमा देखिने तनाव पहिचान गर्न र उनीहरूलाई तत्काल आवश्यक सहयोग पुर्‍याउन महत्त्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिनुभयो।

विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो तनाव, डिजिटल कुलत नियन्त्रण तथा जिम्मेवार मिडिया रिपोर्टिङलगायतका विषयमा समुदायलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको खुसी मन बागलुङले जनाएको छ।

अभियानअन्तर्गत भोलि असोज २३ गते धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी सचेतना कार्यशाला सञ्चालन गरिनेछ। कार्यशालामा परीक्षा तथा भविष्यको चिन्ता र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट हुने असर  न्यूनीकरणका विषयमा व्यावहारिक अभ्यास गराइनेछ।

त्यस्तै अभियानको अन्तिम दिन असोज २४ गते बागलुङका क्रियाशील पत्रकारका लागि आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ तथा सञ्चारकर्मीको मानसिक स्वास्थ्य व्यवस्थापन विषयक अन्तरक्रियात्मक तालिम सञ्चालन गरिनेछ। यससँगै तीनदिने अभियानको औपचारिक समापन हुने आयोजक खुसी मन बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung