४ कार्तिक २०८३, मंगलवार

 

म्याग्दीमा लक्ष्य भन्दा बढी मुद्दा फैसला

सन्तोष गौतम,  बेनी  – जिल्ला अदालत म्याग्दीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ ।

अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८ वटा सहित २५४ वटा मुद्दा दर्ता भएकोमा १७३ वटा फैसला भएको हो । अदालतले बिहीबार आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा श्रेष्तेदार राजु आचार्यले १६४ वटा मुद्दा फस्यौट गर्ने लक्ष्य रहेकोमा दश वटा बढी फैसला भएको जानकारी दिनुभयो ।

गत साउनदेखि फागुन मसान्तसम्म १८६ वटा नयाँ मुद्दा दर्ता भएका अदालतबाट ८१ वटाको फैसला हुन बाँकी छ । २० वटा मुद्दाको निरन्तर सुनुवाई गरीएकोमा ९ वटाको फैसला भएको छ । एउटा नकवजनी चोरीको मुद्दा ३ दिनमै फैसला भएको छ ।

अदालतले गरेका फैसला कार्यान्वयनमा समेत तिब्रता पाएको छ । फागुन मसान्तसम्म ८९९ वर्ष ३ दिन कैद र ८७ लाख २४ हजार ४६५ रुपैया जरिवाना असुल उपर गर्नुपर्नेमा साउन देखि यता ५८ वर्ष १ महिना २८ दिन कैद र १५ लाख १४ हजार ८०० रुपैया जरिवाना असुल भएको अदालतले जनाएको छ ।

तहसिलदार शाखाका कर्मचारीको सक्रियता, सुरक्षा र अन्य सरकारी निकायको सहयोगका कारण अदालतले विभिन्न समयमा गरेका फैसला कार्यान्वयनमा लक्ष्य भन्दा बढी सफलता मिलेको न्यायाधिश रामप्रसाद शर्माले बताउनुभयो ।

यसैबीच अदालत परिसरको सुरक्षा अवस्थालाई सुदृढ र व्यवस्थित बनाइने भएको छ । अदालत परिसरको क्यान्टीन हटाएर त्यहाँ प्रहरी राख्ने तयारी भएको छ । अदालत प्रवेशका लागि सुरक्षाकर्मीलाई परिचय खुल्ने कागजात देखाएर नाम दर्ता गराउनुपर्ने भएको हो ।
पहिलो चरणमा यसअघि क्यान्टीन रहेको टहरामा चार जना प्रहरी रहने र निर्माणाधिन ब्यारेक भवनले पूर्णता पाएपछि दरबन्दि अनुसारको सुरक्षाकर्मीको उपस्थिती हुने न्यायाधिश शर्माले बताउनुभयो । त्यहाँको प्रतिक्षालय भने सेवाग्राहीलाई उपलब्ध गराइनेछ् ।
अदालतको सुरक्षा अवस्थालाई सुदृढ र परिसरलाई व्यवस्थित बनाउन नियमित सुरक्षाकर्मीको उपस्थिती र चेकजाँचको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अदालतमा खुल्ला आवत जावत हुँदा सुरक्षा चुनौतीका साथै होहल्ला हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung