आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवार छनौट गर्ने बैठकमा उमेदवारमै घमासान भएको छ । बैठकमा अाधा दर्जनले आकांक्षा राखेकोमा तीनजना मात्र पठाउने बाध्यात्मक नीतिले ठूलै बहस भएको हो । बाम तालमेलको चर्चा भैरहेकोले उपमेयरमा सिफारिस भएमा सुरक्षित नहुने देखेपछि सबैले प्रमुख पदमै सबैको दावी गरेका हुन ।
एमाले बागलुङ नगर कमिटिको आइतवार बसेको बैठकले तीन जना लाई मेयर पदकालागि उमेदवार सिफारिस गरेको छ । सिफारिस भएका उमेदवारको जिल्ला कमिटिले सर्वसम्मतका लागि पहल गर्ने र अन्तिम छनौटकालागि प्रदेश कमिटिमा पठाउने प्रावधान बनाएको छ ।
सिफारिस मध्ये पूर्व अध्यक्ष समेत रहेका जनक पौडेल, अघिल्लो साता रुद्रेपिपल माविको प्रअबाट राजिनामा दिएकी निर्वाचन कमिटिकी संयोजक ममतादेवी शर्मा र समाजसेवी सुवाशचन्द्र राजभण्डारी रहेको जिल्ला सचिव लालबहादुर थापाले बताए । नगर संगठन कमिटिका संयोजक गोविन्द गौतमको अध्यक्षतामा सोमबार बस्ने बैठकले सिफारिस नाम जिल्ला कमिटिमा पठाउने छ ।
जिल्ला कमिटिको बैठक आगामी बिहिवार बस्ने जनाइएको छ । यस अघि आकांक्षा राखेका हिमालप्रसाद शर्मा, धु्रबबहादुर केसी, ईश्वरलाल राजभण्डारी र कृष्णप्रसाद शर्मा बाध्यात्मक प्रावधानका कारण सिफारिसमा परेनन् । उनीहरुले चुनावी प्रतिष्पर्धाबाट बाहिरिएको बताए ।













































































































































































































