४ श्रावण २०८३, सोमबार

 

पश्चिम बागलुङमा प्रमुख–उपप्रमुख बन्न काँग्रेसका दुई दर्जन आकांक्षी

नेपाली काँग्रेशमा स्थानीय तहको निर्वाचनमा टिकट लिन चाहने गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखका आकांक्षीको नाम क्षेत्रीय समितिमा पुगेको छ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा रहेको एक नगरपालिका र तिन गाउँपालिकामा प्रमुख तथा उप्रमुखको उम्मेद्वार बन्न चाहनेले पार्टीले तोकेको निश्चित शुल्क सहित गाउँ तथा नगर समन्वय समितिमा नाम दर्ता गरेपछि त्यहाँ सर्बसम्मत नभएका नाम क्षेत्रीय समितिमा पठाईएको हो ।
तमानखोलाको भने अध्यक्ष र उपाध्यक्ष दुबैको नाम गाउँपालिका समन्वय समितिमै सर्बसम्मत गरि एक÷एक जनाको नाम मात्र सिफारिस भएको छ । अध्यक्षमा जोगलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचनको नाम गाउँपालिका समन्वय समिति मै सर्बसम्मत गरेर क्षेत्रिय समितिमा पठाईएको समन्वय समितिका संयोजक खगेन्द्रमान पुनले जानकारी दिनुभयो ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उम्मेद्वारी सकेसम्म स्थानीय समन्वय समितिमै टुङ्गो लगाउने तर आकांक्षी धेरै भएर नटुङ्गिए क्षेत्रिय समिति र त्यहाँपनि टुङ्गो नलागे जिल्ला समितिमा पठाउने परिपत्र पार्टी केन्द्रले गरेको छ । पश्चिम बागलुङका स्थानीय निकाय मध्ये सवैको बढि चासो र चर्चामा रहेको ढोरपाटन नगरपालिकामा नगरप्रमुखमा झण्डै आधा दर्जनले नाम दर्ता गरेका छन् ।

महासमिति सदस्यहरु धिरप्रताप सिंह, अर्जुन शेरचन, पुर्व जिल्ला सदस्य मेषलाल शर्मा र दिपक अदैको नाम क्षेत्रिय समितिमा सिफारिस गरेको ढोरपाटन नगर समन्वय समितिका संयोजक सालिकराम शर्माले जानकारी दिनुभयो । प्रमुखमा अर्का महाधिवेशन प्रतिनिधि सागर छन्त्यालको नाम पनि आफुकहाँ आईपुगेको क्षेत्रीय सभापती द्रोणकुमार कुँवरको भनाई छ । ढोरपाटन नगरको उपप्रमुखमा लिलमायाँ पुन, दिलमायाँ रामदाम र हितदेबि घर्तीको नाम क्षेत्रीय समितिमा पुगेको छ ।
बडिगाड गाउँपालिकाबाट अध्यक्ष पदका लागि जिल्ला सदस्य गण्डकी थापा अधिकारी र महाधिवेशन प्रतिनिधि कृष्ण केसीको नाम सिफारिस भएको छ । उपाध्यक्षमा सिता श्रीस, अमरबहादुर श्रीस, सरस्वती रिजाल आचार्य र धनबहादुर थापाको नाम क्षेत्रीय समितिमा पठाएको गाउँपालिका संयोजक अर्जुन खरेलले जानकारी दिनुभयो ।
निसीखोला गाउँपालिकाबाट अध्यक्ष पदका लागि महाधिवेशन प्रतिनिधि तुलासिंह घर्ती, जिल्ला सदस्य तारानाथ पौडेल, गाउँपालिका समन्वय समितिका संयोजक ईन्द्र मल्लको नाम पठाईएको समन्वय समितिले जनाएको छ । क्षेत्रीय समितिले भने जिल्ला सदस्य प्रकाश कुँवर र भबेन्द्र कुँवरको नाम पनि प्राप्त भएको जानकारी दिएको छ । उपाध्यक्षमा हुमकुमारी गुरुङको नाम मात्र सिफारिस भएको समन्वय समितिका संयोजक ईन्द्र मल्लले जानकारी दिनुभयो ।
क्षेत्रीय सभापती द्रोणकुमार कुँवरले अब तत्काल क्षेत्रीय समितिको बैठक बसी उम्मेद्वारको अन्तिम टुङ्गो लगाउने बताएपनि बैठक कहिले बस्छ भन्ने खुलाउनुभएन । उम्मेद्वारका आकां्क्षीले सांसद ज्ञानकुमारी छन्त्याल काठमाण्डौमा रहेका कारण उम्मेद्वारी टुग्याउने क्षेत्रीय बैठक हुन नसकेको बताउने गरेका छन् । क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, सांसद र क्षेत्रीय सभापतीका निकटतम प्रतिद्वन्द्वि सहितको बैठकले सर्बसम्मत टुङ्ग्याउन नसके पदाधिकारी बैठकले सहमतीमा टुङ्ग्याउने केन्द्रको परिपत्र रहेको नेपाली काँग्रेश बागलुङका सभापती दिपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
सभापती थापाले बैसाख ७ गते भित्र उम्मेद्वारको नाम जिल्लाले केन्द्रमा पठाउनुपर्ने भएकाले भोलि जिल्ला कार्यसमितिको बैठक राखिएको जिल्ला सचिव नवराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung