विदेश गएर धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसाय गरी मनग्य आम्दानी गर्दै आएका छन । बानपा—२ का २७ बर्षका राजन पौडेलले अहिले सैलुन व्यवसाय गरि आम्दानी गरेका हुन । पुरानो बसपार्क नजिक रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एण्ड ब्युटी फर लेडिज एण्ड जेन्स ‘ खोलेर पौडेलले व्यवसाय गर्दै आएका हुन ।
६ लाख ऋण काँढेर सैलुन सुरु
‘सुरुमा त घरपरिवार र समाजले समेत व्यवसाय नगर्न सुझाव मात्र हैन दवाव पनि दिए,काम भनेको सानो ठूलो हुदैँन भन्ने लागेर ६ लाख ऋण लगानी गरेर सैलुन सुरु गरेँ ।‘ पौडेलले बताए । ऋण काँढेर सुरु गरेको सैलनु उनले स्थापनाको पहिलो बर्षमा नै चुक्ता गरेका हुन ।
तालिम तथा रोजगारी
विदेशमा पसिना बगाएर सोचेजस्तो कमाइ नभइ घर फर्केका उनले राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएका थिए । तालिम लिएपछि सैलुन सुरु गरेका पौडेलले जीवनमा सोचेजस्तो राम्रो कमाइ भएको बताए । सैलुन व्यवसायबाट उनी मात्र होइन अन्य दुइजना पुरुष र एक महिला गरी ३ जनाले पनि रोजगारी पाएका छन ।
समस्या र आकर्षण
सुरुमा घरपरिवार तथा समाजले यस्तो व्यवसाय नगर्न दवाव दिएपनि सैलुन व्यवसाय भारतीय नागरिकले मात्रै गर्ने प्रचलनलाइ चिर्दै स्वदेशमा आम्दानी हुने देखेर व्यवसाय सुरु गरेको पौडेलले बताए । ‘सुरुमा सैलुनमा कोही पनि नआउने,यस्ले जान्दैन भन्ने गर्दथे,उनले भनेँ,पछि विस्तारै आफ्नो मेहनत देखेर केटाकेटी र युवाहरु आउन थालेँ ।‘
उनको सैलुन पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण हुने गरेको छ । बढिजसो अफिसियल र टिनेजर्स सैलुनमा आउने गरेको पौडेलले बताए । तालिम नै लिएर राजनले ग्राहकको रोजाइ र मागअनुसार सेवा दिन थालेपछि सैलुनमा सेवा लिन आउनेहरुको भीड हुने गर्दछ ।
मासिक २ लाख बढि आम्दानी
दैनिक ४० देखि ५० जनासम्म पुरुष तथा महिला विभिन्न सेवा लिन आउने गरेको राजनको भनाइ छ । दैनिक ५ हजार देखि ७ हजार सम्म कमाइ हुने गरेको उनले बताए । अहिले उनको आम्दानी परिवार,आफ्ना छोराछोरीको शिक्षामा मात्रै नभएर दैनिक बचत हुन थालको छ ।













































































































































































































