
बानपा ३ मा नागरोडमा आइतबार जमिन भासिएको छ । भासिने खालको भुबनोट रहेको उक्त बस्तीमा पहिले पहिले पनि भासिने गरेको स्थानीयहरुले बताएका छन । एक्कासी जमिन भासिएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली घटना स्थलमा पुगेको थियो । बाक्लै बस्ती रहेको नागरोडमा बस्तीहरुलाई तत्कालका लागि खतरा नरहेको र अरु ठाउँमा पनि भासिएको खण्डमा खतरा हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए ।
३ घर खाली गराइयो
तत्काल खतरा देखिएका बस्तीका ३ घरहरु खाली गराएको प्रहरी उपरिक्षक खापुङले बताए । ३ घरमा बस्ने परिवारहरु लाई छिमेकी र आफन्तककोमा जिम्मा लगाइएको उनले बताए । ‘भूबनोट कमजोर खालको भएकाले भासिएको हो, तत्काल आत्तिनु पर्ने अवस्था छैन ।’ प्रहरी उपरिक्षक खापुङले भनेँ । जमिन भासिएको ठाउँमा नजान र तत्काल जोखिम नरहेकाले स्थानीयले त्रास मान्नु नपर्ने उनले बताए ।
नगरपालिका प्रमुख सहितको टोली निरिक्षणमा
जमिन भासिएको थाहा पाएपछि बागलुङ नगरपालिकाका प्रमुख सहितको टोली घटना स्थलमा पुगेका छन । जोखिम न्युनिकरण र आवश्यक सर्तकता अपनाउने विषयमा अनुसन्धान भैरहेको नगर प्रमुख जनक पौडेलले बताए । निरन्तर परेको बर्षाका कारण पनि जमिन गलेर भासिएको हुन सक्ने बताइएको छ । बस्ती भित्र जमिन सामान्य रुपले भासिएको तर यत्ति ठूलो रुपमा नभासिएको स्थानीयहरुको भनाई छ । भूबनोट पनि कमजोर खालको र निरन्तरको बर्षाले भासिएको निरिक्षण पछि फर्किएका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए ।