४ कार्तिक २०८३, मंगलवार

 

प्रकाश घर्ती छापामार देखि गाउँपालिका अध्यक्षसम्म

- बल प्रयोगले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट

बल प्रयोगले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने प्रमाणित प्रकाश घर्तीमगरको जीवनमा भएको छ । सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिका–२ अर्गलका घर्तीमगर निर्वाचनबाट स्थानीय सरकारको प्रमुखमा चुनिनुभएको छ । ३६ वर्षको उमेरमै जनताले सिङ्गो ताराखोला गाउँपालिकाको अभिभारा सुम्पेका छन् । भारी मत सहित गाउँपालिका प्रमुखमा निर्वाचित घर्तीमगरको राजनीति भने सङ्र्घषको जगबाट उठेको हो ।


विद्यार्थी सङ्गठनहुँदै राजनीतिमा आउनुभएका घर्तीमगरले छोटो अवधिमै आफूलाई जनतामाझ प्रमाणित गर्न सफल हुनुभएको छ । ‘२०५२ सालमा अखिल क्रान्तिकारीको इकाई समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ’ घर्तीमगरले भन्नुभयो ‘पछि विद्यार्थीको जिल्ला कोषाध्यक्ष, उपाध्यक्ष समेत भएँ ।’ तत्कालिन नेकपा माओवादीले चलाएको सशत्र युद्ध चर्कदैँ जाँदा घर्तीमगर २०५८ सालमा सैन्य सङ्गठनमा प्रवेश गर्नुभएको थियो । सशत्र सङ्र्घका बेला प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर समेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।
पार्टी शान्तिप्रकृयामा आएपछि घर्तीमगरको राजनीतिक जीवनमा पनि फेरबदल आयो । ‘सेनाबाट निस्केपछि म माओवादीको युवा सङ्गठन वाइसियलको जिल्ला अध्यक्ष भएर काम गरेँ’ घर्तीमगरले भन्नुभयो । घर्तीमगर अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य समेत हुनुहुन्छ । गत वैशाख ३१ कोे स्थानीय निर्वाचनबाट घर्तीमगर नयाँ भूमिकामा पुग्नुभएको छ । शसत्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले फेरिएको छ ।
शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो । विकास योजना पार्ने, जनताको पीरमर्काका साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेको विश्लेषण गरिएको छ । आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दण्डपाणी कँडेललाई २३९४ मतले पछि पार्दै उहाँ गाउँपालिका प्रमुखमा विजयी बन्नुभएको थियो । कुल खसेको मत मध्ये घर्तीमगरले ३३५० र कँडेलले ९५६ मत प्राप्त गर्नुभएको थियो ।
सशत्र युद्धबाट समेत बढी प्रभावित ताराखोला गाउँपालिकाका ५ वटै वार्डमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । ‘हिजो युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौं’ घर्तीमगरले भन्नुभयो । जनताको विश्वासलाई डग्मगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने उहाँको प्रतिवद्धता छ । सबै राजनीतिक दल र पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने घर्तीमगरको भनाइ छ ।
सडक सञ्जालको विस्तार, स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधि लगाएतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरसँग छ । ‘सांस्कृतिक र राजनीतिक सङ्ग्रालय बनाउने विषयमा पनि योजना बनाइरहेका छौं’ घर्तीमगरले भन्नुभयो ‘जनताको जीवनस्तर उकास्न र सिङ्गो गाउँपालिकाको समृद्धिको लागि दिलो ज्यान दिएर काम गर्नेछौं ।’
चुनाव प्रचारकै बेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाउनुभएका घर्तीमगरकी आमा, श्रीमति र एक छोरी हुनुहुन्छ । उहाँकी श्रीमति केशरी घर्तीमगर व्यवस्थापिका संसद्को सदस्य समेत हुनुहुन्छ । प्राकृतिक स्रोत, साधानले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने लक्ष्य पनि नवनिर्वाचित पदाधिकारीहरुसँग छ । गाउँपालिका उपप्रमुखमा पनि नेकपा (माओवादी केन्द्र) कै दिलकुमारी रोका विजयी बन्नुभएको छ । प्रमुख, उपप्रमुख लगाएत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर काम समेत थालिसकेका छन् ।  – रासस

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung