४ कार्तिक २०८३, मंगलवार

 

ज्येष्ठ नागरिकले गरे जनप्रतिनिधिको स्वागत

ज्येष्ठ नागरिक जिल्ला संघ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षलाई स्वागत गरेको छ । आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वार्ड नं. ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गर्नुएको छ ।

चुनावका बेला गरेका प्रतिवद्धतालाई पुरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गर्नुभयो । ‘ज्येष्ठ नागरिकको हकहितमा राज्यले कानुन बनाएको छ, त्यसको कार्यान्वयमा हामी जोड दिन्छौं’ प्रमुख पौडेलले भन्नुभयो ‘नगरस्तरबाट गर्न सकिने काम र योजनाबाट पनि ज्येष्ठ नागरिकका मागलाई सम्बोधन गर्छौं ।’

उहाँले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवन बाँच्न पाउने अधिकारको रक्षाको निम्ती सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उहाँको भनाइ छ । जनताका अपेक्षा धेरै रहेको भन्दै उहाँले समाजका सबै वर्ग र पक्षको समान विकासको आवश्यकता औंल्याउनुभयो ।
वार्ड अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको लागि विश्राम स्थल र हेरचाह केन्द्रको निर्माण गर्ने योजना रहेको बताउनुभयो । यस्तै हिंसापीडित महिलाहरुको पुनःस्थापना केन्द्र स्थापना गर्ने सोँच आफूसँग रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष काजी रोशनको अध्यक्षता र समितिका उपाध्यक्ष रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य तथा सचिव हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापा लगाएतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung