आफ्नो उमेरका साथीहरु पैसा कमाउन विदेश गईरहेका बेला गलकोटका एक युवाले गाउँमै व्यवसाय सुरु गरेका छन् । गलकोट नगरपालिका मल्मका जीवन साहनीले ४० लाख रुपैयाँको लागतमा हटिया बजारमा फेन्सी पसल सञ्चालन गरेका हुन् ।
उनले गत बर्षको भदौमा २५ लाख रुपैयाँबाट सुरु गरेको पसलबाट सिजनको बेला मासिक झण्डै २ लाखकोे व्यापार हुने गरेको छ । दशैँको महिनामा आफुले एक लाख ८० हजार रुपैयाँको सामान बेचेको उनले बताए ।
‘मेरा धेरै साथीहरु पैसा कमाउनकै लागि जापान र अरु देशमा गएका छन्’ साहनीले भने–‘उनीहरुले मलाई पनि उतै आउन भनेका थिए, तर मैले आफ्नै देशमा बसेर केहि गरौँ भन्ने सोचेर विदेश जाँदा लाग्ने खर्च यहि लगानी गरेको छु, कमाई पनि राम्रै हुने गरेको छ ।’
पुर्व भ
लिवल खेलाडी समेत रहेका उनले खेल खेल्न जाँदा पोखरा, काठमाण्डौ जस्ता ठुला शहरमा अरुले फेन्सी पसलबाट राम्रो गरेको देखेर आफुलाई पनि यो व्यवसाय गर्न ईच्छा जागेको बताउँछन् ।
पसल सुरु गर्नु अघि डेकोरेशनमा मात्र ८ लाख खर्च भएपछि उनलाई आफन्त र साथीहरुले ‘अब तँ डुविस्, यति ठुलो लगानी भयो, यस्ता ब्राण्डेड सामान गाउँमा बिक्दैन, कमाई कसरी हुन्छ ?’ जस्ता यवत् प्रश्न गर्दा पनि आफ्नो हिम्मत नहारेर काम थालेका उनले आत्मविश्वास साथ निरन्तर परिश्रम गरे राम्रो कमाई गर्न सकिने अनुभव सुनाउँछन् । पसलको सजावटको काम गर्नका लागि आफुले काठमाण्डौ र विरगन्जबाट कालिगड ल्याउनु परेको साहनीको भनाई छ ।
रोजगारीका क्रममा उनका वुवा र भाई दुवै विदेशमा छन् । परिवारका सदस्य र गाउँका अरु धेरै जना विदेश गएका बेला गाउँमै पसल गर्छु भनेर ऋण खोज्दा पाउन मुस्किल परेको उनको अनुभब छ ।
अहिले गलकोट क्षेत्रमा ५५ ओटा भन्दा धेरै फेन्सि पसल रहे पनि ब्राण्डेड सामान मात्र राख्ने गरेकाले स्तरिय सामान खोज्ने ग्राहक आफ्नोमा आउने गरेको साहनीको भनाई छ ।
फेन्सिमा विभिन्न प्रकारका तयारी पोसाक, जुत्ता चप्पल, स्पोर्टस्का सामान पाईन्छ । गाउँ घरमा हुने खेलकुद् कार्यक्रमका लागि भलिबल, नेट, जर्सी, ट्रफि, कप जस्ता सामान आवश्यकता अनुसार आफ्नो पसलमा पाईने भएपछि यी सामान खोज्न बागलुङ, पोखरा तथा काठमाण्डौ पुग्नुपर्ने बाध्यता हटेको छ ।
विदेशबाट घर आउनेहरुले परिवारका सदस्य एवं ईष्टमित्रका लागि र विदेश जानेले पनि आफ्नो तथा साथीहरुको लागि उनको पसलबाट सामान लाने गरेका छन् । सुचना प्रविधिको बिकाससँगै खरिदकर्ताले फेसवुक, भाईबर, म्यासेन्जर जस्ता सामाजिक सन्जालमा आफुलाई मन परेको सामानको फोटो पठाएर समेत अर्डर गर्नेे गरेको साहनीले बताए ।
उनी सामाजिक कार्यमा समेत सक्रिय छन् । गलकोट युवा समाजका अध्यक्ष रहेका साहनी घुम्टे युवा परिवार मल्मका सदस्य पनि हुन् ।













































































































































































































