७ जेष्ठ २०८१, सोमबार

 

ताराखोलामा बालश्रम विरुद्धको दिवश–प्रतियोगितात्मक कार्यक्रम सहित छात्रवृत्ति वितरण

ताराखोला गाउँपालिका वडा नम्बर–४ र ६ (साविक तारा गाविस) मा रहेको बाल संरक्षण समितिले बाल श्रम विरुद्धको दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल मावि ताराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमले आफ्नो भविष्य निर्माणको विद्यार्थीले सिकाईमा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो करियर निर्माणसँगै सामाजिक रुपान्तरणको अभियानमा समेत सक्रिय रहन विद्यार्थीलाई आग्रह गरे । खत्रीले कोहि पनि बालबालिका आफ्नो शिक्षा पाउने अधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा दुर्गा भवानी माविका प्रअ टेकबहादुर घर्तीले पनि मन्तव्य राखेका थिए ।
दिवशको अवसरमा साविकको तारा गाविस भित्रका विद्यालयका विद्यार्थीको सहभागितामा हाँजिरीजवाफ, अक्षर चिनारी र सियोमा धागो हाल्ने प्रतियोगिता भएका छन् ।
प्रावि तहको हाँजिरीजवाफ प्रतियोगितामा त्रिशुली प्रावि प्रथम, युवा बर्ष प्रावि नागबेलीखोला द्वितिय र मालारानी निमावि मच्छर तृतिय भएका छन् । कक्षा २ को अक्षर चिनारी र ३ को सियोमा धागो छिराउने प्रतियोगिता पनि भएको थियो ।

सो अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । ८ ओटा प्रावि विद्यालयबाट १/१ जना छात्रछात्रा र कक्षा ६ देखि ९ सम्मका छनोट भएका छात्रछात्रालाई विद्यालय पोसाक तथा स्टेशनरी प्रदान गरिएको थियो ।

प्रत्यक विद्यालयका उत्कृष्ट विद्यार्थी पनि छात्रवृत्ति प्रदान गरिएको थियो । चालु आर्थिक बर्षमा बालबालिकाको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम गरिएको हो ।

कार्यक्रम गाउँबाल संरक्षण समिति ताराका अध्यक्ष राजेन्द्र कँडेलको अध्यक्षता, मालारानी निमाविका शिक्षक कमल घर्तीको स्वागत र दुर्गा भावानी माविका शिक्षक टिकाराम कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्