२९ बैशाख २०८२, सोमबार

 

विकट राङ्खानीको जनता मावि यसरी बन्यो नमुना

जैमिनी नगरपालिका—१० राङ्खानीको एक सामुदायिक विद्यालयले आफुलाई नमुना विद्यालय स्थापित गरेको छ । ग्रामिण क्षेत्रका अधिकांस सामुदायिक विद्यालयले विद्यार्थी नपाएको गुनासो गरिरहँदा विकट गाउँ राङ्खानी पाहीको जनता माविले समय अनुकुलको शिक्षामा जोड दिएपछि नमुना बनेको हो ।

विद्यालयमा कम्प्युटर तथा कक्षा ११ र १२ मा विज्ञान विषयमा पढाई हुन थालेपछि विद्यार्थीहरुको संख्या समेत बढ्दै जान थालेको छ । राङखानीको पाहीमा रहेको सामुदायिक विद्यालयले अँग्रेजी माध्यमबाट पठन पाठन गर्ने गरेको छ । विद्यालयले विद्यार्थीको नतिजामा राम्रो सुधार गरेपछि अहिले आसपास विभीन्न ठाउँहरुबाट समेत घण्टौं हिँडेर विद्यार्थीहरु विद्यालय अवलोकन गर्न आउने गरेका छन् ।

जैदीबाट दुई घण्टा हिँडेर अध्ययन गर्न विद्यालय पुगेका सन्तोष पौडेलले विद्यालयमा कम्प्युटर कक्षा, ई–पाटी, साइन्स ल्याब लगायतका सुविधा भएकाले आफु उक्त विद्यालयप्रति आकर्षित भएको बताए । ‘नजिकको विद्यालयमा यहाँ भएका सेवा सुविधा छैनन्,’ उनले भने, ‘कम्प्युटर र अँग्रेजी माध्यमबाट पढाई हुने यो विद्यालयमा बोर्डिङ स्कुलको जस्तो सेवा भएकाले दुई घण्टा पैदल हिँडेरै यहाँ आउने गरेको छु ।’
आफुहरु जस्तो टाढाबाट अध्ययन गर्न आउने विद्यार्थी छात्रावासको व्यवस्था भैदिए अझ राम्रो हुने उनी बताउँछन् । उक्त विद्यालयमा अध्ययन गर्न जैदी, धुल्लु लगायतका क्षेत्रबाट विद्यार्थी आउने गरेका छन् ।

प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्म पढाइ हुदैँ आएको विद्यालयमा चार सय हाराहारीमा विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । विद्यालयमा अध्ययनरत अर्की विद्यार्थी मिना थापाले किताबी ज्ञान मात्रै भन्दा पनि बाहिरी ज्ञानका कुराहरु बढि सिक्न कम्प्युटर उपयोगी भएको बताईन् ।

विद्यालयले समुदायको साथ र सहयोगले नतिजा राम्रो हुँदै गएको बताएको छ । ‘यहाँको समुदायले विद्यालयलाई कसरी राम्रो बनाउनुपर्छ भन्ने कुरामा ध्यान दिएको छ,’ विद्यालयका प्रअ कमल पौडेलले भने, ‘सबैको हातेमालोले गर्दा विद्यालय यस क्षेत्रकै नमुना विद्यालयको रुपमा विकास भएको छ ।’ बजारका विद्यालयले समेत विज्ञान विषय धान्न नसकिरहको अवस्थामा गाउँमै विज्ञान विषय पढाउने निर्णय गरेर जोखिम उठाए पनि त्यसमा सफल भएको उनले बताए ।

‘हामीले गाउँमै विज्ञान विषयको कक्षा सञ्चालन गर्न सफल भयौं,’ उनले भने, ‘नतिजा राम्रो दिन सके विद्यार्थी अभाव हुँदैनन् भन्ने कुरा अहिलेसम्मको अनुभवले सिकाएको छ ।’  विद्यालय गाउँमा भएको कारण दक्ष र योग्य शिक्षकहरुलाई लामो समयसम्म टिकाउन कठिन हुने गरेको उनको अनुभव छ । गाउँकै विद्यालयले उत्कृष्ट नतिजा दिएपछि उक्त ठाउँबाट बसाइँ सराई समेत कम हुन थालेको विद्यालयका पूर्व प्रअ धर्मागत शर्माले बताए ।

‘छोराछोरीलाई अँग्रेजी स्कूलमा पढाउनकै लागि शहर चलन थियो, अहिले रोकिएको छ,’ शर्माले भने, ‘सुविधा सम्पन्न विद्यालय जस्तै राम्रो नतिजा दिन सके सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको भरोसा जित्न सक्दो रहेछ ।’ अहिले विद्यार्थीले शैक्षिक शत्रको बीचैमा विद्यालय छोडेर जाने क्रम समेत घटेको उनले सुनाए ।

विद्यालयले कक्षा ११, १२ मा व्यवस्थापन संकायमा समेत अध्यापन गराउने गरेको छ । कक्षा १२ को वोर्ड परीक्षा र एसईई परीक्षामा विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयहरुको सूचिमा पर्ने गरेको अभिभावक दानबहादुर थापाले बताए ।

‘म विदेशमै भएका बेला यहाँ साथीहरुले एउटा बोर्डिङ स्कुल खोलौं भन्ने छफलफल चलाएका थिए,’ उनले भने, ‘म फर्केर आएपछि बोर्डिङ स्कुल होईन सामुदायिकलाई नै बोर्डिङ जस्तो शिक्षा दिने खालको बनाऔं भनेर अभियान शुरु गरियो, अहिले नतिजा राम्रो भएको छ ।’

विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष समेत रहेका थापाले विद्यालयको नतिजा सुधारका लागि शिक्षक विद्यार्थी संगसंगै समुदायले पनि साझेदारी गर्नुपर्ने बताउँछन् । विद्यालय अहिले जैमिनी नगरपालिका भित्रको नमुना विद्यालय बनेको उनको भनाई छ ।

‘धेरै ठूलो लगानी गर्नुपर्दैन, बोर्डिङ स्कुलमा जति पनि पैसा तिर्न सक्ने अभिभावले विद्यालयमा थोरे लगानी गरे हुन्छ,’ उनले भने, ‘शिक्षक विद्यार्थीले आफ्नो जिम्मेवारी ईमान्दारीता पूर्वक पूरा गरे हुन्छ, अरु केही गर्दै पर्दैन ।’

तस्विरः रबिना बोहोरा

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung