भारतीय उद्योग परिसंघकी अध्यक्ष सोवाना कामिनेनीले परियोजना बैंक बनाएर मात्रै लगानीका लागि आह्वान गर्न नेपालका निजी क्षेत्रलाई सुझाब दिएकी छिन् । भारतीय परिसंघले नयाँदिल्लीमा आयोजना गरेको व्यावसायिक सम्मेलनका क्रममा उनले सो सुझाब दिएकी हुन् ।
नेपालमा सम्भावना भएका नाफामूलक र दिगो परियोजनाको सूची बनाएर भारतीय लगानीकर्तालाई आह्वान गर्न उनले आग्रह गरेकी छिन् । ‘नेपालमा जलविद्युत्, प्रसारणलाइनलगायत क्षेत्रमा लगानीको सम्भावना छ भन्ने हामी सबैलाई थाहा छ,’ उनले भनिन्, ‘अब निश्चित परियोजना तयार गर्नुहोस् ।’ उनले वातावरणीय र अन्य समस्या हटाउनसमेत आग्रह गरिन्
।
त्यस्तै लगानीको एकद्वार नीति अपनाउनसमेत उनको सुझाब थियो । ‘भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार छन्,’ उनले भनिन्, ‘तर, कुन परियोजनामा, कहाँ र कुन मोडालिटीमा लगानी गर्ने भन्नेमा द्विविधा छ ।’
नेपालमा लगानीको अनुकूल समय
सो अवसरमा महासंघ अध्यक्ष भवानी राणाले नेपालमा लगानीको राम्रो सम्भावना भएको भन्दै त्यसको फाइदा उठाउन भारतीय लगानीकर्ताहरूलाई आग्रह गरिन् । ‘राजनीतिक स्थायित्व कायम हुँदै गएको छ, लोडसेडिङ हटेको छ, नीति–नियम लगानीअनुकूल तयार भएका छन्,’ उनले भनिन्, ‘यस्तो अनुकूल समयमा नेपालमा लगानी गर्नुहोस्, नेपालको निजी क्षेत्र स्वागत र सहकार्य गर्न तयार छ । सरकारले पनि त्यसलाई सहजीकरण गर्नेछ ।’
भारतका प्रमुख चार सहरमा ‘रोड सो’ हुने
नेपाल–भारत आर्थिक सम्मेलनका लागि भारतका प्रमुख चार सहरमा ‘रोड सो’ गरिने भएको छ । आगामी मंसिरमा दिल्ली, मुम्बई, बैंग्लोर र चेन्नईमा ‘रोड सो’को आयोजना हुनेछ । त्यसलाई साझेदारी गर्न भारतीय उद्योग परिसंघ तयार भएको हो । नेपाल लगानीका लागि पूर्ण रूपमा अनुकूल भइसकेको बताउँदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले त्यसबारे भारतीय लगानीकर्तामा जानकारी गराउन चाहेको बताए । ‘लगानीका चुनौतीहरू हटेका छन्, लगानीको राम्रो वातावरण तयार भएको छ,’ उनले भने, ‘यो सन्देश आमभारतीय लगानीकर्तासमक्ष पुर्याउन भारतीय परिसंघले सहयोग गरोस् ।’
पूर्वाधार विकासका लागि पिपिपी र बुटमा जान सुझाब
भारतका यातायात तथा राजमार्गमन्त्री नीतिन गड्करीले पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको बताएका छन् । भारतले गरेको पूर्वाधार विकासको अनुभव साट्दै उनले नेपाललाई पनि पिपिपी र बुट मोडल अपनाउन सुझाब दिए । नेपालको पूर्वाधार विकासमा सहयोग गर्न भारत सधैँ तयार रहेको उनको भनाइ थियो ।
महासंघ अध्यक्षसहितको प्रतिनिधिमण्डलसँग बिहीबार दिल्लीमा भएको भेटमा गड्करीले नेपालले जग्गा अधिग्रहणको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । हाल भारतीय लगानीका जलविद्युत् आयोजना र आइसिपीमा समेत जग्गा अधिग्रहणसमेत समस्याका रूपमा रहेको छ ।
साभार : नयाँ पत्रिका













































































































































































































