वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड छ । भारतसँग मात्रै रु छ खर्ब र चीनसँग रु एक अर्ब २८ अर्ब घाटा छ । अन्य मुलुकसँग झण्डै रु एक खर्ब ८२ को घाटा बेहोरिएको छ । निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकार भएका निकायको भनाइ छ ।
नेपालले प्रमुख रुपमा पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ (सुन आदि) लगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले अहिले वार्षिक रु एक खर्बको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । पहिला दाल, चामल, ऊन र धातुका सामान निर्यात हुन्थ्यो ।
पेट्रोलियममा मात्र प्रत्येक वर्ष रु २२ देखि २४ अर्बको आयात हुने गरेको छ । सोही मात्रामा सुनको आयात हुने गरेको छ । सम्भावना बोकेको पस्मिना, गलैँचाजस्ता वस्तुको उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको अन्तर्राष्ट्रिय बजार हिस्सा कमजोर बनेको छ । अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता देखिएको छ ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुको एक आवको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु अत्यन्तै दुःखदायी अवस्था हो भन्दै व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको उत्पादन र बजार प्रवद्र्धन जरुरी भएकाे बताउछन् । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुको प्रोत्साहनका लागि करको दर घटाई दायरा फराकिलो बनाउनेतर्फ मन्त्रालयले काम अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ ।
वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको चुलिँदो व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी नीतिगत र कानूनी व्यवस्थाको सुनिश्चितता गर्न मन्त्रालय लागेको बताए ।
वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमन गर्ने कार्यमा विभाग लागिपरेको बताए । नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक लक्ष्मणबहादुर बस्नेत अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह विस्तारको काम अघि बढाइएको जानकारी दिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक शरद्विक्रम राणाले निकासीजन्य वस्तुको उत्पादन प्रवद्र्धन तथा आन्तरिक बजारमा खपत हुने सामग्रीको आयात सहजीकरणका लागि केन्द्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने भनार्इ राख्छन् ।
साभार : जनपाटी