पशु पंक्षि मन्त्रालयको लापरवाहीको कारण जिल्ला पशु विकास कार्यालयमा यो बर्ष कार्यक्रम तर्फको बजेट एक रुपैयाँ पनि नआउँदा कार्यालयका कर्मचारी निकाम्म भएका छन् ।
कृतिम गर्भाधान, किसानको घाँस विक्रि, पशु स्वास्थ्य शिविर संचालन, फर्म संचालनलाई अनुदान, जस्ता दर्जनौं कार्यक्रम यो बर्ष नहुने भएपछि किसान निरास भएका छन् । गाईको फर्म संचालकहरुले यो बर्ष कृतिम गर्भाधान पनि गर्न नपाउने भए ।
यी सबै कामका लागि अघिल्ला बर्षहरुमा लाखौंको बजेट आउने गथ्र्यो, तर अहिले शुन्य बजेट भएको छ । पशुपंक्षि मन्त्रालयले सबै बजेट स्थानीय तहको नाउँमा पठाएको र स्थानीय तहले आफ्नो अनुकुलमा अधिकांस बजेटलाई भौतिक पूर्वाधारमा खर्च गर्ने नीति बनाएकोले सबै काम अलपत्र परेको हो ।
‘अघिल्लो बर्ष ५ लाख रुपैया“को नाईट्रोजन खरिद गरेर ३ हजार ५ सय पशुको कृतिम गर्भाधान गरेका थियौं’ पशु विकास अधिकृत निलकण्ठ शर्माले भने, ‘यो बर्ष बजेट नभएपछि किसान मर्कामा परेका छन् ।’ बजेट नभएपछि राष्ट्रिय पशु प्रजनन् केन्द्रमा आएको नाईट्रोजन खरिद गरेर ल्याउन नसकेको उनले बताए ।
समयमा गाईभैसीलाई कृतिम गर्भाधान नगरे नब्याउने र अर्को बर्ष दूधको समस्या पर्ने समेत बताइएको छ । कुडुलेमा जिल्ला कृषि विकास कार्यालयले घाँस उत्पादन केन्द्र बनाएको छ । उक्त स्थानमा उत्पादित घाँसको बिउ कार्यालयले खरिद गरिदिने शर्त थियो । तर यो बर्ष किसानले फोन गर्न थालिसके, कार्यालयमा बजेट नभएपछि खरिद गरिदिन नसकेको शर्माले बताए । बरु उनीहरुलाई बागलुङ नगरपालिकामा गएर विक्रि गर्न भनेको उनले बताए ।
बागलुङ नगरपालिकामा मात्र १ करोड १२ लाख रुपैयाँ पशु विकास कार्यालयको बजेट गएको उनले बताए । उक्त बजेट बाट नगरपालिकाले भने पूर्वाधार लगायतका क्रियाकलापमा बजेट विनियोजन गरेको छ ।
स्थानीय तहमा बजेट स्थानान्तरणको समयमा पशुपंक्षि मन्त्रालय र विभागले निसर्त अनुदानमा पठाएपछि किसान मर्कामा परेका हुन् । शशर्त भनेको भए नगरपालिकाले पशु विकास कार्यालयको सहकार्यमा काम गर्नु पथ्यो, तर सशर्त भनेकोले बोलाउन नपरेको नगरपालिकाका कार्यकारी अधिकृत सुवास लामिछानेले बताए । निशर्त अनुदानमा आएको बजेट जनप्रतिनिधिले चाहेको स्थानमा खर्च गर्न सक्ने प्रावधान भएको उनले बताए ।
बागलुङमा १३ वटा पशु सेवा केन्द्र छन् । ती केन्द्रमा पनि कार्यक्रम गएको छैन । बरु ४ नगरपालिका र ६ गाउँपालिकामानै कार्यालयको बजेट बाडिएर गएको हो । स्थानीय तह निर्वाचन पछि कर्मचारी समायोजनका लागि माग भएपछि कार्यालयले बागलुङ नगरपालिकामा डा. रुपेश श्रेष्ठ सहित बालकृष्ण शर्मा, गजेन्द्रराज पन्त र कार्यालय सहयोगी भगवती पौडेललाई पठाएको छ ।
त्यस्तै जैमिनी नगरपालिकामा प्राविधिक प्रताप पौडेल, गलकोट नगरपालिकामा एमनारायण श्रेष्ठ र बुर्तिवाङमा खुमानन्द पोखे्रल पठाएको हो । त्यस्तै गाउँ तर्फ बडिगाढमा निर्मला गैह्रे, काठेखोलामा रामकृष्ण सुवेदी, निसीखोलामा कृष्णचन्द्र शर्मा, तमानखोलामा रामेश्वर मण्डल, ताराखोलामा पुष्पराज अधिकारी र बरेङमा नेत्रप्रसाद शर्मालाई पठाएको हो ।
मन्त्रालयको त्रुटीले कार्यालयले बिजुली, टेलिफोन र पानीको पैसा तिर्ने बजेट समेत नरहेको लेखापाल देव शर्माले गुनासो गरे । यो समस्या देशभर भएकोले तत्काल सल्ट्याउन माग गर्न बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरी भने मन्त्रालयमा डेलिगेसन गएका छन् ।













































































































































































































