६ श्रावण २०८३, बुधबार

 

बागलुङबाट बीस प्रजातिका जडीबुटी निर्यात

बागलुङबाट गत आव २०७३/०७४ मा बीस प्रजातिका जडीबुटी निर्यात भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, खोटो लगाएत निर्यात भएको हो ।

जिल्ला वन कार्यालय बागलुङका निकासी भएको २५ हजार ४ सय ९० किलो जडीबुटीबाट रु. २ लाख ७५ हजार ७ सय २५ राजश्व उठेको छ । जडीबुटीसँगै ६७ हजार ३९० किलो किलो सल्लाको खोटो निर्यात भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए । जिल्लाका ७ वटा सामुदायिक वनमा भएको खोटो संकलनबाट वन उपभोक्ता समूहले रु. आठ लाख ९० हजार आम्दानी गरेका छन् ।

खोटो सङ्लन र निर्यातबापत एक लाख २७ हजार मुल्य अभिवृद्धिकर राज्य कोषमा जम्मा भएको छ । यस्तै, जिल्ला समन्वय समिति (तत्कालिन जिविस) करबापत रु. ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको थियो । खोटो निर्यातका लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको अधिकृत विकले बताए ।

ति कम्पनीले आव २०६७/०६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा ग्रैहकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमुल्य जडीबुटी त्यसै खेर गइरहेका छन् । ‘यहाँको जङ्गलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र सङ्कलन हुन सकेको छैन’ अधिकृत विकले भने ।

उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । पछिल्लो आवमा भने अघिल्लोको तुलनामा झण्डै दोब्बरले बढी जडीबुटी निर्यात तथा राजश्व संकलन बढेको छ । आव २०७२/०७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटी निर्यातबाट जम्मा रु. एक लाख २८ हजार राजश्वय संकलन भएको थियो ।

इजाजत पत्र लिएपछि जिल्ला वन कार्यालयले सङ्कलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रम अन्र्तगत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung