
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले राजनीतिक अस्थिरता नै आर्थिक विकासको बाधक रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले शनिबार बागलुङ बजारमा गरेको “संघीय संरचनामा आर्थिक समृद्धिका लागि स्वाधीन अर्थतन्त्र” विषयक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले आर्थिक विकासको लक्ष्य पुरा गर्न स्थिरता अनिवार्य रहेको बताए । ‘हामीले विकासको निष्चित लक्ष्य त तय गर्छौं, सरकार फेरीएपछि उसको प्राथमिकता पनि स्वभाविक फेरीन्छ नै,’ उनले भने, ‘यही अस्थिरता नै लक्ष्य प्राप्तीको बाधक हो ।’
उनले मन्त्री फेरिँदा वित्तिकै मन्त्रालयदेखि तल्लो तहसम्मै गरिने कर्मचारी हेरफेरले पहिले तय भएका योजना र कार्यक्रमको पुर्ण कार्यान्वयन नभई विचमै अलपत्र पर्ने गरेको बताए ।
क्षत्रीले अर्थतन्त्र बलियो बनाउन मुलुक भित्रको उत्पादन बढाएर वस्तु निर्यातमा ध्यान दिनुपर्ने बताए । ‘आफ्नो उत्पादन विदेश निर्यात नभए अरबौँ व्यापार घाटा कम गर्न सकिँदैन,’ उनले अगाडी थपे, ‘राज्यले लगानी गर्ने वातावरण बनाउन आवश्यक छ, व्यवसायिले उत्पादनमूलक व्यवसायतिर ध्यान दिनुपर्छ ।’
नेपाली युवाले विदेशमा पसिना बगाएर भित्राएको विप्रेषणले पक्कि घर बनाएर एक छाक मिठो खान र राम्रो लाउन पाउँदा तत्काललाई सन्तुष्टी मिले पनि राष्ट्रिय अर्थतन्त्र परनिर्भर हुँदै जाने बताए । ‘हामीले अहिले छोरो अमेरिका र छोरी क्यानडा जाँदा मन खुसी बनाएका छौँ,’ उनले भने, ‘यो प्रतिभा पलायन हो, यसले राष्ट्रिय अर्थतन्त्रलाई क्रमश कमजोर बनाउँदै जान्छ ।’
क्षत्रीले भाषणले मात्र स्वाधीन अर्थतन्त्र नबन्ने बताए । ‘सोचाई र काम गर्ने तौरतरिका मिल्यो भने बल्ल विकासको गति अघि बढ्छ,’ उनले भने, ‘भाषणले मात्र अर्थतन्त्र स्वाधीन हुँदैन, यसका लागि हाम्रो सिद्धान्त र व्यवहारको तालमेल हुनुपर्छ ।’
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष श्यामप्रसाद श्रेष्ठले स्वाधीन अर्थतन्त्र निर्माणको लागि उद्योगी व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष डम्मरदेव अर्याल, बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन अचार्य, राष्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, राजनीतिक दलको तर्फबाट एमाले अध्यक्ष ईन्द्रलाल सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रशिक्षणमा जिल्लाका उद्योगी व्यवसायी सहयोगी दिए । संगठनका जिल्ला अध्यक्ष राजबहादुर थापाले संघीय संरचनामा बनेका स्थानीय तहलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीमा स्वाधीन अर्थतन्त्रको जागरण ल्याउन उनीहरुलाई विज्ञबाट प्रशिक्षित गरिएको बताए ।
उद्घाटनपछि भएको प्रशिक्षणमा संघीय संरचनामा समृघिका लागि स्वाधीन अर्थतन्त्र बारे दीपेन्द्रबहादुर क्षत्री, संगठनको बारे श्यामप्रसाद श्रेष्ठ र डम्मरदेव अर्याल तथा करशिक्षा बारे करअधिकृत सुर्यप्रसाद चापागाईले सहजिकारण गरे ।
उद्घाटन कार्यक्रम अध्यक्ष राजबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।