६ श्रावण २०८३, बुधबार

 

गणपति भण्डारीले दिए मानव सेवा आश्रमलाई ५० हजार

मानव सेवा आश्रम बागलुङ शाखालाई नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अच्युतम भण्डारीले रु. ५० हजार व्यक्तिगत सहयोग प्रदान गनुृभएको छ । सोमबार आश्रममा आयोजित कार्यक्रममा प्रमुख सेनानी भण्डारीले सहयोग रकमको चेक आश्रमका अध्यक्ष मनिष रायमाझीलाई हस्तान्तरण गरे । सोही अवसरमा अर्जुनवाण गणको तर्फबाट आश्रमलाई खाद्यन्न लगाएतका सामाग्री समेत प्रदान गरिएको थियो ।

सहयोग हस्तान्तरण पछि बोल्दै प्रमुख सेनानी भण्डारीले मानिसले अरुको लागि बाँच्न सक्नुपर्ने धारणा राखे । ‘मानवीय सेवा नै सार्थक जीवनको कडी हो’, प्रमुख सेनानी भण्डारीले भने, ‘आफूको लागि सबै बाँचेकै हुन्छ, अरुको लागि बाँच्नु ठूलो कुरा हो ।’ उनले देश र नागरिकको हितमा जस्तो सुकै काम गर्न नेपाली सेना तयार रहेको बताए । सेनाले आफ्नो मुल दायित्वका अतिरिक्त मानवीय सेवाका क्षेत्रमा सँधै काम गर्दै आएको उनको भनाइ छ ।

उनले विभिन्न कारणले सडकमा दुःखको दैनिकी काटिरहेका मानिसलाई साहारा दिएर आश्रमले उदाहरणीय काम गरेको प्रतिक्रिया दिए । आश्रमका अध्यक्ष मनिष रायमाझीले आश्रम स्थापनाको चरण देखि नै नेपाली सेनाले सहयोग गर्दै आएको स्मरण गरे । उनले आश्रम सञ्चालन र व्यवस्थापनका लागि विभिन्न संस्था तथा व्यक्तिले स्वेच्छिक रुपमा सहयोग प्रदान गर्दै आएको बताए । गत वर्ष स्थापना भएको आश्रममा अहिले बालबालिका देखि ज्येष्ठ १८ जना व्यक्तिले आश्रय लिएका छन् ।

सडक पेटीमा जीवन गुजारीरहेका साहाराविहीन व्यक्तिको जीवनयापनमा सघाउन आश्रम स्थापना गरिएको हो । आश्रममा रहेको अधिकांश व्यक्तिमा मानसिक समस्या देखिएको आश्रम व्यवस्थापनले जनाएको छ । खानपान, आवास, औषधोपचार, मनोरञ्जन लगाएतका सेवा आश्रम भित्रै उपलब्ध गराउने गरिएको छ । शारीरिक र मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएर सडकमा अलपत्र परेका व्यक्तिलाई उद्धार गरि आश्रममा राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung