२ जेष्ठ २०८२, शुक्रबार

 

बागलुङलाई पर्यटनको गन्तव्य बनाउछौ : वाम उम्मेद्वार 

वाम गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेद्वार डा.सूर्य पाठकले बागलुङ जिल्लालाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि स्पष्ट योजना आवश्यक रहेको बताए । निर्वाचन प्रचारका क्रममा सोमबार बिहान बागलुङ बजारको नारायणचोकमा आयोजित कार्यक्रममा बोल्दै उमेदवार पाठकले संभावना प्रशस्त भएर पनि पर्यटकले एक दिन पनि बस्ने नसक्ने स्थानको रुपमा बागलुङ बजार बन्दै गएको बताए । देशकै एक मात्र शिकार आरक्ष ढोरपाटन बागलुङमा पर्छ भनेर हामी दंग छौ, तर ढोरपाटन जाने पर्यटकले बागलुङ बजारको मुख देख्दैनन् ।

कालिका भगवती मन्दिरको दर्शन गरेर बाङ्गेचौरबाट फिर्ता हुने पर्यटकहरुलाई कम्तिमा एक दिन बागलुङ बसौ भन्ने पार्न, बागलुङ बजार हुदै पर्यटकहरुलाई ढोरपाटनसम्म जाने अवस्था सिर्जना गर्नका लागि बागलुङ बजार र यससंग जोडिने सडक सञ्जाललाई व्यवस्थित गराउनुका साथै पञ्चकोट लगायत यहाँका धार्मिक, सांस्कृतिक संम्पदाहरुको संरक्षण आवश्यक रहेको बताए । विकासका लागि पर्यटन, जलस्रोत, कृषि र जडिबुटीको क्षेत्रमा योजना आवश्यक रहेको भन्दै पाठकले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसंगको परामर्शमा बागलुङको समग्र विकासका लागि आफु निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  

यस भन्दा पहिला निर्वाचित भएर गएका प्रतिनिधिहरुप्रति प्रश्न गर्दै पाठकले ४÷५ वर्ष माननीय भएर यो समाजको विकासका लागि गरेका राम्रा ४ वटा काम देखाउन चुनौती दिए । सबै सांसदले पाउने ३ करोड परिचालन बाहेक अन्य क्षेत्रमा के प्रगती भयो ? बागलुङको समृद्धिका बारेमा संसदमा कति पटक आवाज बुलन्द गर्नु भयो ? भुकम्प पीडित बागलुङेहरुको उद्धारका लागि कहिले र कहाँ आवाज उठाउनु भयो ? भन्दै पाठकले संसदमा जानु भनेको केवल ताली बजाउन होइन भने ।

संसदमा जाने व्यक्तिले जनताको जनजीविका र जिल्लाको समृद्धिका योजना निर्माण गर्ने, नीति नियम बनाउने र जनताको सुख दुखमा साथ दिने हो भन्दै उहाँले त्यसका लागि आफु प्रतिबद्ध रहेको बताए । डा. पाठकले जापानमा विद्यावारिधी गरेपछि आफ्नो अगाडि पारिवारीक सुख समृद्धिमा लाग्ने की समाज रुपान्तरणमा लाग्ने दुइवटा बाटा थिए र आफुले समाज रुपान्तरणको बाटो रोजेको बताए । हाम्रो हजुरवाको पुस्ताले राणा फाले, बा को पुस्ताले पञ्चायत फाले अब हाम्रो पुस्ताले समृद्ध देश बनाउन सकेनौ भने मेरी छोरीले सोध्ने छिन्, तपाईले राजनीतिमा लागेर के गर्नु भयो ? पाठकले भावी पुस्तालाई जवाफ दिने गरी देशको समृद्धिका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष साझा वाम उमेदवार इन्द्रलाल सापकोटाले ४ नं. प्रदेश र सिंगो बागलुङको समृद्धिका लागि जलस्रोत नै प्रमुख माध्यम भएका बताए । जलस्रोतलाई उपयोग गर्ने नीति निर्माण गर्न, पर्यटन प्रवद्र्धन, कृषिमा आधुनिकीकरण गरी समृद्ध नेपाल निर्माणका लागि वाम गठबन्धनलाई विजयी गराउन आव्हान गरे । उनले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकास हुन नसकेको भन्दै स्थिर सरकार, दीगो विकास र सामाजिक रुपमा जनतालाई सुरक्षा प्रदान गर्नका लागि बामपन्थी गठबन्धनको विकल्प नभएको बताए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रतनप्रसाद मलेपतिले गरेकान थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung