
नेपाल विद्युत प्राधिकारण बागलुङले लामो समयदेखि विद्युत महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाईन काटेरै महसुल रकम उठाउन थालेको छ ।
पाँच महिना भन्दा धेरै समयदेखि महसुल नतिरेका २ सय ८ ग्राहकको लाईन काटेर तिर्न ताकेता गरेपछि २ महिनामै २३ लाख ५० हजार रुपैयाँ उठिसकेको विद्युत प्राधिकारण बागलुङ वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले जानकारी दिए । भदौ २१ गते आफु सरुवा भएर बागलुङ आउँदा झण्डै पौने करोड रकम नउठेको पाएपछि आफुले बक्यौता महसुल उठाउन कडाई गरेको उनले वताए ।
‘जिल्ला भित्रको अभिलेख हेर्दा ४ वर्षदेखि महसुल नतिर्ने ग्राहक पनि भेटिए,’ पाण्डेले भने, ‘७०।७५ लाख रुपैयाँ महसुल बक्यौता रहेको पाएपछि म यहाँ आएको भोलिपल्टदेखि नै यो रकम उठाउन लागि परेको छु ।’ ताकेता गरेपछि बजार क्षेत्रमा सडक वत्ति बालेको ३७ लाख भन्दा बढीे बक्यौता महसुल नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई दिन कागजी प्राक्रिया अघि बढेको छ ।
‘सडक वत्तिको महसुल एक पटकका लागि अहिले नेपाल सरकारले नै तिरिदिने भनेको छ,’ वितरण केन्द्र प्रमुख पाण्डेले भने, ‘तिर्नका लागि नगरले आवश्यक प्रक्रिया पूरा गरि सरकारलाई सिफारिस गर्नुपर्छ, हामीले ताकेता गरेपछि नगरपालिकाले प्रक्रिया अघि बढाएको छ ।’
विद्युत काटिएका मध्ये झण्डै ३० जना ग्राहकको महसुल उठ्न अझै बाँकी रहेको उनले बताए । समयमै महसुल नतिरेका जिल्लाका ५।६ वटा सरकारी कार्यालयको समेत विजुली काटिएको प्राधिकारण जनाएको छ । विद्युत महसुल ५ हजार रुपैयाँ भन्दा बढी पुगेका र कम्तिमा पाँच पहिनादेखि महसुल नतिरेका ग्राहकको सुचि बनाएर पहिलो चरणमा लाईन काटिएको हो ।
झण्डै १ वर्षदेखि यहाँको विद्युत प्राधिकरणसँग सम्पर्कमै नरहेका युनाईटेड टेलिकम र नेपाल स्याटेलाईट टेलिकम प्रालीको महसुल उठाउने प्रक्रिया अघि बढाउन क्षेत्रीय कार्यालय पोखरामा सिफारिस गरेको पाण्डेले जानकारी दिए । यी दुई कम्पनीले प्राधिकारणलाई १ लाख ३० हजार रुपैयाँ महसुल तिर्न बाँकी रहेको कार्यालयको तथ्याङ्क छ ।
सवा १ लाखदेखि २ लाख रुपैयाँसम्म तिर्न बाँकी रहेका दुई वटा एमएम रेडियोले पनि लाईन काटेपछि महसुल बुझाएका कार्यालयले जनाएको छ । यी दुईटै एफएमले एक वर्षदेखि महसुल तिरेका थिएनन् ।