६ श्रावण २०८३, बुधबार

 

४५ वर्षदेखि एउटै कुर्चीमा

कुनै कृतिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कला जस्तो । ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलिए पनि होला । साह्रै हलुङ्गो छ । उस्बेला ठोकेका काँटी ढिला हुँदा कुर्ची लरखराउँछ पनि । तर, उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रिय कोटी’मा छ । यहाँतिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची ।

५२ वर्षदेखि पुस्तक/पत्रपत्रिका बेच्दै आएका लालचन्द्र राजभण्डारी बस्ने कुर्ची । बागलुङ नगरपालिका–३ लालीगुँरासस्थित लालचन्द्र–राजेशचन्द्र पुस्तक तथा पत्रपत्रिका पसलमा अहिले पनि त्यही कुर्ची छ । जहाँ ७४ वर्षीय राजभण्डारीका छोरा नाति समेत बस्छन् । आलोपालो गरि पसल बस्ने त्यही कुर्चीमा बसेर व्यवसाय सम्हाल्दै आएका छन् । एउटा काठको जीर्ण हुँदै गएको कुर्ची किन यति प्यारो ?

लालचन्द्र भन्छन्, ‘बीचमा अर्को फोल्डिङ गर्न मिल्ने कुर्ची पनि ल्याएँ नरुचेपछि हटाइदिएँ, २०२८ सालदेखि यही कुर्ची प्रयोगमा छ ।’ म्याग्दीको रुममा काठको काम गर्ने बागलुङ गैरागाउँका मजदुरले उनलाई उक्त कुर्ची ल्याइदिएका थिए । जसको मुल्य त्यस ताका साढे दुई सय रुपैयाँ थियो ।
पुस्तक पसल विसं २०२१ सालमा राधाकृष्ण टोलमा स्थापना गरिएको थियो । पसल राधाकृष्ण टोलमै हुँदा त्यहिँबाट यो कुर्चिको प्रयोग सुरु भएको थियो । ४८ सालमा त्यो पसल लालिगुराँस चोकमा सारिएको थियो ।
कार्यकक्षमा कुर्ची फेरी–फेरी बस्ने सार्वजनिक पदधारी व्यक्तिदेखि व्यापार/व्यवसायका मालिकलाई यो विषय अनौठो पनि लाग्न सक्छ ।

तर, लालचन्द्र राजभण्डारीले भने यसलाई स्वभाविक मान्छन् । उनलाई बसीरहँदा त्यही कुर्ची प्रिय लाग्नेरहेछ । उनले महङ्गो र आरामदायी कुर्ची किन्न नसकेर कहाँ हो र ? नत उनी आर्थिक रुपमा मितव्ययी बन्न खोज्नुभएको हो ।

आर्थिक रुपमा समृद्ध परिवार भएपनि लालचन्द्रलाई त्यहीँ पुरानो काठको कुर्चीको माया छ । उनलाई सबभन्दा आरामको अनुभूति त्यही कुर्चीमा बस्दा हुँदोरहेछ ।

 

‘किन हो किन, यसमै बस्न ठिक लाग्छ’ उनले भने, ‘काठको कुर्चीमा न्यानो पनि हुने, सजिलो पनि ।’ सामाजिक, राजनीतिक गतिविधिमा पनि सक्रिय राजभण्डारी साधारण तवरले जीवन व्यतित गर्न रुचाउँछन् । ‘म अलिक भिन्न विचार राख्ने खालको पनि छु, खरो स्वभावको’ राजभण्डारीले भने ‘मेरो जीवनशैली सामान्य खालको छ, मलाई यस्तै रुच्छ ।’ तडक भडक गर्ने स्वभाव उनमा छैन ।

वाम विचारधारा राख्ने राजभण्डारी ‘सादा जीवन, उच्च विचार’को मान्यतामा सहमत छन् । २०२१ सालमा राजभण्डारीले बागलुङ बजारको राधाकृष्ण टोलमा पुस्तक पसल स्थापना गरेका थिए । उनी पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय भएका थिए । ‘पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यसबेलाका अञ्चलाधिशले जिल्लाका अड्डा प्रमुखहरुलाई लालचन्द्रको पसलबाट पत्रिका, किताव, मसलन्द नकिन्नु भनेर आदेश दिए’ ७२ वर्षीय लालचन्द्र राजभण्डारीले आफ्नो विगत सम्झिए ।

२०२४ सालतिर माक्र्स, लेनिन, माओ र बीपीका पुस्तकहरु लुकाईछिपाई पसलमा लिएर बेच्ने गरेको उनी बताउँछन् । व्यापारसँगै राजनीति र समाजसेवामा सक्रिय राजभण्डारीसँग २०३६ सालमा उद्योग वाणिज्य संघको अध्यक्ष, २०२४ सालमा विद्यामन्दिर पुस्तकालयको अध्यक्ष, २०४९ सालको स्थानीय चुनावबाट निर्वाचित तत्कालिन कालिका गाविसको उपाध्याक्ष, २०४८ सालमा संयुक्त जनमोर्चाको उपाध्यक्ष भएर नेतृत्व प्रदान गरेको अनुभव पनि छ । अहिले उनी विद्यामन्दिर माविको भवन निर्माण समितिको अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung