७ जेष्ठ २०८१, सोमबार

 

नयाँ प्याकेज ल्याउँदै होटल पिस प्यालेस

धेरै युवाहरुको आकर्षण विदेश छ । व्यवसाय गर्न चाहाने पनि ठूला शहरमा व्यवसाय विस्तारमा तल्लिन छन् । तर, यहाँ एक व्यवसायी युवा बागलुङ बजारमै बसेर ‘व्यवसायिक करिअर’ बनाइरहेका छन् । बागलुङ बजारमा सञ्चालित पूरानो ‘होटल पिस प्यालेस’ । जिल्लाबासीमात्र नभएर बागलुङ भ्रमण गर्न आउने सबैको गन्तव्यनै हो । त्यही होटलका सञ्चालक हुन्– निलेश राजभण्डारी ।

उनलाई अन्य क्षेत्रमा काम गर्ने पनि अवसर थियो । तर, निलेशलाई बागलुङमै बसेर व्यवसाय विस्तारसँग यहाँको पर्यटन प्रवद्र्धन गर्ने हुटहुटीले यहाँ व्यवस्थित होटल सञ्चालन गरिरहेका छन् ।

भारतको मद्रासमा होटल व्यवस्थापन अध्ययन गरका भण्डारीले आफ्नै बाबु अशोक राजभण्डारी र दाजु मनिष राजभण्डारीले सञ्चालन गर्दै आएको होटललाई थप व्यवस्थित गर्दै गुणस्तरीय सेवा दिँदै आएका छन् ।

स्वदेशीमात्र नभएर विदेशी पर्यटकको लागि यो होटल आकर्षक गन्तव्य बनेको छ । बस्नको लागि मात्र होइन यहाँ आयोजना हुने सभासम्मेलन गर्नको लागि सबैको रोजाई पिस प्यालेस बनेको छ ।

विशेष गरी भिआइपीहरुको बागलुङ आगमनमा यहाँ सुविधायुक्त होटल नपाएर बास बस्नका लागि पोखरा पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न विसं.२०५६ चैतदेखि यो होटल सञ्चालनमा आएको थियो । समयको परिवर्तनसँग होटल सञ्चालक राजभण्डारीले पनि यसका सेवासुविधा थप गर्दै नयाँ–नयाँ प्याकेज पनि ल्याएका छन् ।

यो होटल संकटकालदेखि बिभिन्न बाधा अवरोधहरु पार गर्दै अहिले बागलुङमा छुट्टै नाम कमाउन सफल भएको छ । ‘संकटकालमा सुर्य अस्ताउन नपाउँदै कफ्र्यु लाग्थ्यो,’ उनले भने ‘त्यस्तो कठिन समयमा पनि व्यवसायलाई निरन्तरता दियौँ ।’ त्यस बेला देशभर धेरै होटल बन्द भएका थिए ।

सुरुमा ५० लाखको लगानीबाट उनले व्यवसाय सुरु गरेका थिए । होटलमा नयाँ सेवा सुविधा विस्तार गर्न उनले पटक पटक लगानी थप्दै आएका छन् । होटेल व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ ।

होटलमा १३ जना कर्मचारीले रोजगार पाएका छन । उनीहरुले तलव पनि राम्रै पाउँछन् । होटल बागलुङ बजारकै अत्याधुनिक सुविधा सम्पन्न मध्येमा पर्छ । बजारको बिचमा रहेको होटेलमा राम्रो पार्किङ सुविधा, एसी सहितका कोठा र प्रयाप्त तालिम हल समेत छन् । यो ३ रोपनी जग्गामा छ ।

पर्यटक आउने क्रम बढेको र कार्यक्रम पनि धेरै हुन थालेपछि होटेलका लागि सुविधा सम्पन्न नयाँ भवन थपिएको छ ।
चार वर्ष अघि डेढ करोड लगानीमा नयाँ भनव बनाईएको हो । जम्मा १६ कोठा भएकोमा सुविधा सहितका डिलक्स कोठाहरु समेत छन । एकै पकट १ सय जनालाई सुविधा दिन सकिने राजभण्डारीले बताए ।

सुरुमा साधारण १६ वटा कोठाबाट सेवा सुरु भएको थियो । ‘ग्राहकहरुको सल्लाह सुझाव र समयको माग अनुसार हामीले होटलको सुधार पनि गरि रहेको छौँ,’ उनले भने, ‘अहिले अरु होटलले पनि यस्ता सुविधा दिन थालेका छन ।’

उनले भने, ‘हाम्रो जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन, होटलमा आएका पर्यटकलाई त्यहाँसम्म लैजान राम्रो सडक, ठाउँ ठाउँमा होमस्टे, सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्ट नभएका कारण धेरै पर्यटक बागलुङमा भित्राउन सकिएको छैन ’

सरकारवालाले त्यस्ता पर्यटकीय स्थानहरुसम्म आन्तरिक तथा बाह्य पर्यटक लैजानको लागि मिलेर काम गर्नु पर्ने उनको भनाई छ । उनी पर्यटन, संस्कृति र समाजसेवामा समेत रुचि राख्ने राजभण्डारीले मुक्तिनाथ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई बागलुङबाट पनि जान सक्ने बनाउनु पर्ने बताए ।

बागलुङमा ढोरपाटन, निसीखोलाको नरसिंहकोट, अर्नाकोट देउराली, बराह ताल, रुद्रताल जस्ता पर्यटकीय गन्तव्य छन् । त्यस्तै गाईघाटको झरना, गलकोट दरबार, पञ्चकोट, संसारकोट, कालिका भगवती, भैरवस्थान, रामकोट, भकुण्डे र गलकोटको घुम्टेको लेक पनि घुम्नका लागि उपयुक्त ठाउँ हुन् ।

यी ठाउँमा विभिन्न मेला पर्व र विदा मनाउन तथा सिजन अनुसारका आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् । यसरी आउने पर्यटकको संख्या बढाउने र उनीहरुको वसाई समेत लम्बिने गरि भ्रमण प्याकेज बनाउन सके बागलुङले राम्रो आर्थिक कमाईसँगै थप रोजगारी समेत सिर्जना हुने उनको भनाई छ ।

ग्राहकलाई होटलले ढोरपाटन, मुस्ताङ, रारा ताल, पञ्चकोट जस्ता ठाउँमा घुमाउने प्याकेज कार्यक्रम नै बनाएको छ । आउने पर्यटकलाई नेपालका विभिन्न ठाउँ पुग्न टिकट बनाईदिने सुविधा समेत होटेलले दिएको छ । सञ्चालक राजभण्डारी अहिले बागलुङ होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ का अध्यक्ष छन् । यस अघि बागलुङ जेसिजमा पनि अध्यक्ष भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्