२९ बैशाख २०८२, सोमबार

 

१ करोेड १६ लाखको सहयोगमा यसरी बन्यो ताकम माविको भवन

म्याग्दीको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालय भवनको निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जियमको विकास एशोसियसन बेल्जियमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

दश कोठे भवन निर्माणका लागि हाल बेल्जीयममा रहेका ताकमका ज्ञानबहादुर विश्वकर्मा र यामबहादुर विश्वकर्माको पहलमा विकास एशोसियसन बेल्जियमले ७२ लाख ६६ हजार ७३ रुपैया आर्थिक सहयोग गरेको थियो । यसैगरी स्थानीय वासिन्दाले ४३ लाख ३७ हजार ७ सय ४४ रुपैया बराबरको योगदान गरेको विद्यालयका प्रअ कपील सुवेदीले जानकारी दिए । वि.स २०६७ देखि भवन निर्माण सुरु भएको थियो । कक्षा १० सम्मको पठन पाठन हुने विद्यालयमा दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सुविधासम्पन्न भुकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएपछि पठनपाठनमा धेरै सहज भएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुई कोठे अर्को भवन र छात्रामैत्री शौचालय समेत निर्माण भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको अध्यक्षता र शिक्षक ओमकार पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ सुवेदीले आर्थिक विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी सुवेदी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सहयोगदाता संस्थाका अध्यक्ष मौरीक्सलाई ताकमवासीले फुलमालाले स्वागत गरेका थिए भने आर्थिक तथा भौतिक सहयोग गर्ने स्थानीयलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । मौरीक्सले दुर्गम ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग पुगेकोमा खुसी व्यक्त गरे । विकास एशोसियन बेल्जियमले यसअघि बेनीमा जिल्ला अस्पताल परिसरमा रक्तसञ्चार भवन र कालीपुलदेखि मल्लाजको डिलफाँट जोड्ने पक्कि पदमार्ग निर्माणमा समेत आर्थिक सहयोग गरेको थियो ।

 

तस्विर : कृष्णराज पौडेल

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung