६ श्रावण २०८३, बुधबार

 

रातको समयमा पसल र जिप तोडफोड गरि ८० हजार चोरी

बुधबार राती बागलुङ बजारका दुई ठाउँबाट झण्डै ८० हजार रुपैयाँ नगद रकम चोरी भएको छ । बागलुङ नगरपालिका–२ आवारोडमा रहेको रिचार्जकार्ड विक्री गरिने ‘सञ्चार हाउस’ र अन्य दुई स्थानमा रोकेर राखिएका जिप तोडफोड गरि नगद रकम चोरी भएको बताईएको छ । सञ्चार हाउसको सटरमा लगाईएको ताला तोडेर ६०/६५ हजार रुपैयाँ चोरी भएको सञ्चालक उषा पौडेलले वताईन् ।

त्यस्तै हल्लनचोकमा रोकेर राखिएको बागलुङ भगवती यातायात सेवाको ग २ ज ६१७१ नम्बरको जिपबाट १५ हजार चोरी भएको भगवती यातायात सेवाका उपाध्यक्ष दिल पराजुलीले जानकारी दिए । रातीको समयमा पछाडीको सिसा फोडेर पैसा लगेको उनको भनाई छ ।

धौलागिरी जिप व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष सन्तोष जिसीका अनुसार आफ्नो ग १ ज ३०८५ नम्बरको जिप तोडफोड भएको छ । जिपको गियरबक्स खोलेर लिबर समेत तोडफोड भएको उनले बताए । तोडफोडबाट दुबै जिपमा क्षेती पुगेको छ ।

बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वसिंह थापाले घटनाबारे स्थलगत अबलोकन गरि अनुसन्धान प्रक्रिया थालेको जानकारी दिए । ‘चोरीको उजूरी आएपछि घटनाको विषयमा छानबिन हुँदैछ,’ थापाले भने, ‘सम्बन्धित व्यवसायीले दिएको सूचना अनुसार थप अनुसन्धान गर्दैछौँ ।’ घटनास्थल नजिकमा रहेका सिसि क्यामेराको रेकर्ड हेरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung