
जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहिबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनिकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताए ।
उनले महिला मैत्री भवन र नागरिक सहायता कक्षा सञ्चालन भएपछि दुर्गम ग्रामिण क्षेत्रमा गरिब विपन्न महिलाहरुलाई आफ्नो समस्या व्यक्त गर्न सहज हुने र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले लैङ्गीक हिंसामा परेका महिला तथा बालबालिकाहरुको गुनासो सुनुवाई गरि उनीहरुको समस्या सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए । उनले भवनको सदुपयोगमा जोड दिए ।
प्रहरी निरिक्षक सन्तोष रोकाले सञ्चालन गरेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
म्याग्दीका विभिन्न संघ संस्था, व्यवसायी र स्थानीयबासीको सहयोगमा हिंसामा परेका महिला तथा बालबालिकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण भएको हो । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिएको भवनमा सहायता कक्ष र आश्रय स्थलका लागि दुई वटा छुट्टा छुट्टै कक्ष रहेका छन् ।
भवन निर्माण समितिका अध्यक्ष श्यामलाल न्यौपानेले आठ लाख ९२ हजार १ सय १४ रुपैया बराबरको खर्च विवरण सार्वजनीक गरेका थिए । हिंसामा परेका महिला तथा बालबालिकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरिक सहायता र आश्रयस्थल कक्ष सञ्चालन गर्न लागिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताए ।
ग्रामिण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रात सम्म आश्रय सुविधा दिइने उन ले बताए । आश्रयस्थल सञ्चालन भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पीडितहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
प्रहरी कार्यालयले सूचना शाखामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पीडितको लागि आश्रय दिने संघ संस्था नहुँदा समस्या भएको थियो । उद्घाटन कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।