
यही महिनाको अन्त्यतिर बेनीमा सुरु हुने छैटौ म्याग्दी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७४ तयारीको काम तिब्र बनाइएको हो । संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले आईतबार बसेको प्रचारप्रसार उप–समितिको बैठकमा पचास प्रतिशत तयारी पुरा भएको जानकारी गराए । व्यवस्थापकिय र प्रचारप्रसारसंगै आर्थिक स्रोत जुटाउने काम भैरहेको अध्यक्ष कर्माचार्यले जानकारी दिए ।
महोत्सवमा रहने १५० वटा स्टल बुक भैसकेका छन् । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ । सरोकारवालासँग छलफल र भेटघाटलाई तिब्र बनाइएको अध्यक्ष कर्माचार्यले बताए । प्रचारप्रसार उप–समितिका संयोजक सुर्वण रिजालले महोत्सव सफल बनाउन प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको बताउनुभयो । ३९ वटा उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको छ ।
स्थानीय उत्पादनको बजार प्रर्बद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्बद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यवसायीक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशुल्क प्रदर्शनीका लागि स्टलको व्यवस्था गरिएको छ ।
महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।
महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताए । उनले टिकटमा म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बनाएको बताए ।
महोत्सवको अवसर पारेर म्याग्दी जिल्लाको सम्भावनाको विषयलाई समेटेर वृतचित्र निर्माण गर्ने संघले जनाएको छ । महोत्सवमा ८३ लाख १३ हजार रुपैया आम्दानी र ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । भलिबल खेल सञ्चालनका लागि जिल्ला भलीबल संघ र बास्केटबल प्रतियोगिता सञ्चालन गर्न कालीपुल युनाईटेड युवा कल्वलाई जिम्मा दिइएको छ ।