२४ असार २०८२, मंगलवार

 

स्टिमर सञ्चालनपछि शालिग्राम शिला अवलोकन गर्ने पर्यटक बढे

कालिगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालिगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्यामा ह्वात्तै बढेको हो ।स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य नै बनेको छ । पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इञ्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् । वर्षातको समयमा कालिगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सो सेवा सञ्चालन भएको छ ।

पछिल्ला तीन वर्षमा कालिगण्डकी करिडोर अन्तगरतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्नेको संख्या घटेको भए पनि जलयात्राको आनन्द लिनका लागि आन्तरिक पर्यटकको संख्या भने थपिँदै गएको छ । दैनिकजसो पर्वत जिल्लाका विद्यार्थी भ्रमणमा आउने गरेका छन् । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ सो क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भने, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ ।,’ गाडीमा प्रतिकिलो मिटरस रू. ३ पर्ने ढुवानी भाडा रू. १ मा झरेको छ ।

स्याङ्जाको मिर्मी स्थित कालिगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको संगममा अवस्थित प्रसिद्ध धार्मिक स्थल सेतीवेणी बजारसम्म झण्डै सात किलो मिटर दूरीमा कालिगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोँचबाट सुस्त गतिमा बगेको कालिगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणी होटलका सञ्चालक शोभाखर तिवारीले बताए ।

स्टिमरका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ ।‘स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ’, उनले भने । कालिगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डे स्टिमर चल्दा र नचल्दाको यस क्षेत्रको अनुभव नै फरक हुने गरेको बताए । ‘रू १ सय भाडामा बढीमा आधा घण्टामा सात किमी यात्रा सकिन्छ’ उनले भने, ‘स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।’ काठले बनेका, इञ्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने गरेका उनको भनाइ छ ।

दैनिक ४ सयभन्दा बढी विद्यार्थी मिर्मी परियोजना, स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकनका लागि आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसक्रान्ती, बालाचतुर्दशी, शिव रात्रिलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung