
म्याग्दीमा सञ्चालित पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्तीप्रती जनप्रतिनिधिहरुले चासो देखाएका छन् । सडक, भवन, नदी नियन्त्रण, सिचाई, खानेपानी, जलविद्युत लगायतका पूर्वाधार सम्बन्धी योजना समयमा सुरु र सम्पन्न नहुने, अलपत्र पर्ने समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पहल थालेका हुन् ।
जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र बागलुङ स्थित सडक, भवन र जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयका प्रमुखहरुबीच पूर्वाधार आयोजना निर्माणमा भएको ढिलासुस्ती समाधानका विषयमा छलफल भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा बसेको समन्वय बैठकमा बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मंगला, मालीका र धौलागिरी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विषयगत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
जिल्ला स्थित खानेपानी, सिचाई, जिल्ला प्राविधिक कार्यालय, बेनी जोमसोम कोरला सडक आयोजना, राहुघाट जलविद्युत आयोजना र निर्माण व्यवसायीहरुसँग पनि अर्को चरणमा छलफल गर्ने समन्वय समितिले जनाएको छ ।
जनप्रतिनिधिहरुले सडक डिभिजन कार्यालय मार्फत सञ्चालीत तिन किलोमिटर दुरीको बेनी गलेश्वर सडक कालोपत्रे योजना तिन वर्षमा पनि पुरा हुन नसकेको, बेनी दरवाङ, बागलुङ बेनी सडक ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनी पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको र गत वर्ष सुरु भएका ग्रामिण सडक स्तरवृद्धिको काम अलपत्र परेको बताए ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले यस वर्ष नदी नियन्त्रणको योजनाका लागि समयमै ठेक्का लगाएर काम सुरु गर्नु सकारात्मक भए पनि ति योजनाहरु बर्खा अघिनै सक्नुपर्ने जनप्रतिनिधिहरुको भनाई थियो । भवन डिभिजन कार्यालय मार्फत सञ्चालीत विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माण योजना समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा असर परेको गुनासो गरेका थिए ।
सडक डिभिजन प्रमुख थानेश्वर खत्रीले काम सुरु भएपछि डिजाईन ईस्टीमेट परिवर्तन हुन, निर्माण व्यवासायीसंग पर्याप्त उपकरण, दक्ष जनशक्ति नहुनु र प्रतिकुल मौसमका कारण बेनी गलेश्वर सडक कालोपत्रेमा ढिलाई भएको बताए । बेनी बागलुङ सडकको काम सुरु भएको, बेनी–दरवाङको काम गर्न निर्माण व्यवसायी छिट्टै परिचालीत हुने र गत वर्ष राजनितिक पहुँचका आधारमा सञ्चालीत सडक आयोजनाका लागि यस वर्ष बजेट नआएकाले अघि बढाउन नसकिएको ईञ्जिनियर खत्रीले बताए ।
जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङका प्रमुख ईञ्जिनियर खगेन्द्र भट्टचनले झञ्जटीलो ठेक्का प्रक्रियाका कारण ढिलासुस्ती भएकाले नीतिगत सुधारका लागि पहल गर्न आग्रह गरे । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका ईञ्जिनियर गणेश मर्हजनले भौगोलिक विकटता, प्राविधिक जनशक्तिको कमी, सक्षम निर्माण व्यवसायीको अभावका कारण समयमै योजना समन्न गर्न समस्या भएको बताए ।
जिसस प्रमुख केसीले कर्मचारीले निर्माण व्यवसायी र व्यवसायीले कर्मचारीलाई आरोप लगाउने प्रवृतीको अन्त्य हुनुपर्ने बताउँदै कार्यशैलीमा परिवर्तन गरी पूर्वाधार निर्माणका योजनालाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिए । सहभागी जनप्रतिनिधिहरुले स्थानीय सामाजिक समस्या समाधानका लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाउँदै ढिलासुस्तीको समस्या हटाउन कर्मचारीहरुलाई आग्रह गरेका थिए ।