
म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ आँै वार्षिक साधारण सभामा उपभोक्ताले महशुल बुझाउन कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रविधिको प्रयोग गरेर उपभोक्तालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।
स्मार्ट वाटर टेक्नोलोजी लागु गरेर मोवाईलबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको हो । यस्तो प्रविधि लागू भएपछि उपभोक्ताले घरमै बसेर खानेपानीको महशुल भुक्तानी गर्न पाउनेछन् । दक्षिण कोरीयाको यस्तो प्रविधि नेपालमै पहिलो पटक म्याग्दीमा भित्र्याउन लागिएको हो ।
बेनीमा स्मार्ट वार टेक्नोलोजी लागु गर्ने विषयमा नगर विकास कोष र कोरिया स्थित ईन्कोनी नेशनल युनिभर्सीटी बिच २०७४ कात्तिक १८ गते कोरीयामा प्रारम्भिक सम्झौता भएको छ । सम्झौता कार्यान्वयनका लागि युनिभर्सीटीका प्रतिनिधि, कोषका पदाधीकारी र विशेषज्ञको टोली निकट भविश्यमा बेनी आउन लागेको अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिए ।
नगर विकास कोषका कार्यकारी निर्देशक मनिराज महत, कोषका समाजशास्त्री सुवासराज पन्त, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, डाक्टर इन्दिरा पराजुली, बसन्त बन र अध्यक्ष श्रेष्ठबीच बैठक बसेर पहिलो चरणमा छलफल गरिएको छ । स्मार्ट वाटर टेक्नोलोजी लागू भएपछि बाढी पहिरोका कारण पाइप फुटे वा अन्य संरचनामा क्षत्ती पुगेमा ईन्टरनेट र मोवाईलबाट जानकारी प्राप्त गर्न सकिनेछन ।
स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, आधुनिक उपकरणको प्रयोगबाट मिटर रिडीङ हुने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति गरिने, विलीङ तथा लेखा सफ्टवयर प्रयोग गरिने, पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने र पानीलाई बोट्लिङ गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिने छ ।
बेनी बजारका ९ सय ६१ घरधुरी उपभोक्तालाई खानेपानी सुविधा प्रदान गर्दै आएको आयोजनाको यसै वर्ष ६ करोड १५ लाख २ सय ७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा प्रतिसेकेण्ड बिस लिटर खानेपानी आपुर्ती गर्ने क्षमत्ताको बनाइएको छ । साधारण सभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संस्थाको प्रविधिकरण गर्ने योजनालाई नगरपालीकाबाट पूर्ण सहयोग रहने बताए ।
मुहानदेखि उपभोक्ताको मुखसम्म शुद्ध पानी उपलब्ध गराउन प्राथमिकता दिने बताए । प्रजिअ कृष्णप्रसाद अधिकारी, खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख ईश्वरी शर्मा, बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, उपभोक्ता यजनलाल शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष तुलसीलता श्रेष्ठले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष याम शाक्यले गत आर्थिक वर्षको ९६ लाख २६ हजार ५ सय ८५ रुपैया बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा मिटर रिडर शौरभ किसानलाई नगद पाँच हजार रुपैया सहित उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । सभाले संस्थाको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।