२५ असार २०८२, बुधबार

 

पुल बन्यो गाडी गुडेनन्

गत चैत्रमा कुश्मा र फलेवास नगरपालिकालाई जोड्ने गरि दुई नगरको सीमाना मल्याङ्दीखोलामा पक्कि पुल बन्यो । पुल बनाउन पौने २ करोड खर्च भएको थियो । सडक भरपर्दो नहुँदा पुल बने पनि यो पुल हुँदै सवारी साधान गुड्न छाडेका छन् । साइकलचोक नुवार चुचुनदेउराली सडक खण्ड भरपर्दो नभएपछि अहिले वैकल्पिक मार्ग हुँदै सवारी साधान सञ्चालन हुदैँ आएका छन् ।

पुल बनेपछि सडक कालोपत्र गर्ने जनाइएको थियो । तर उक्त सडक अहिले पनि ठाउँ ठाउँमा बिग्रिएको छ । ठाडो रहेका कारण सवारी साधानहरु गुडाउन धकेल्ने र तान्ने गर्नुपर्छ । यहि समस्याले सवारी चालकहरुले अहिले तातोपानी–रुग्दी–चुचुनदेउराली सडकको प्रयोग गर्न थालेका छन् । गत वर्षसम्म समस्या झेल्दै आए यो वर्षदेखि यो बाटो बन्द जस्तै छ ।

‘मोटरसाइकल र ट्रयाक्टर बाहेक अरु यहाँ चल्न छाडे, स्थानीय कुलप्रसाद शर्माले भने,‘ पुल बनेर के गर्ने बाटो गतिलो छैन ।’ पुल बनेपछि सडकको समेत स्तरउन्नती हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । गाउँमा अब नियमित गाडी गुड्छन भन्ने आशा थियो उनले भने,‘ पक्कि पुल देखाउन बनाएजस्तो पो भयो ।’ पुल नहुँदा बर्खामा यातायात बन्द भएको कारण यहाँ पुल बनाइएको थियो । पुल बनेपछि बर्खामा मात्रै होईन हिउँदमै गाडी गुड्न छाडेका छन् ।

‘गतवर्षसम्म गाडी गुड्थे, हामी यहि बाटो ओहोरदोहोर गरिरहेकै थियौँ, स्थानीय खड्कबहादुर कार्कीले भने, ‘तर यो वर्षदेखि रुग्दीको बाटो चल्न थाल्यो यताको बन्द भयो ।’ रुग्दी तर्फको बाटो घुमाउरो भएपनि सहज रहेको तर यताको बाटो ग्रेड नमिलेको र ठाडो हुँदा बन्द भएको कार्किले बताए । तातोपानी–रुग्दी–चुचुनदेउराली सडक खण्डमा दैनिक एउटा बस सदरमुकामबाट आउजाउ गर्छ भने ३ वटा जीप दैनिक सञ्चालन हुने गरेका छन् ।

पुल नहुँदा सवारी साधन चल्न समस्या रहेको भनेर ठुलो प्रयासले पुल बनाईएको तर नगरपालिकाले बाटो मर्मत नगर्दा गाडी चल्न नसकेको राजनीतिज्ञ गंगाधर तिवारीले बताए । उनले नगरपालिकाले सडक मर्मत नगरि दिँदा ठाउँ ठाउँमा बिग्रिएको कारण समस्या आएको बताए । ‘नगरपालिकाले एक पटक डोजर डुलाएर फर्कियो बिग्रिएको ठाउँमा मर्मत गरेन, उनले भने । नगरपालिकाले अरु सडक दशैँको बेला मर्मत गरेको भए पनि यो सडकमा डोजर मात्रै डुलाएर फर्किएको तिवारीले आरोप लगाए ।

वडामा बजेट नहुँदा बाटो मर्मत गर्न नसकेको वडाध्यक्ष अर्जुन बहादुर केसी बताउँछन् । नगरपालिकाले बल्ल सोलिङ गर्ने गरि बजेट विनियोजन गर्ने चरणमा रहेको केसीले बताए । सोलिङका लागि ८/१० लाखको बजेट स्टिमेट गरेर पठाईएको छ वडा अध्यक्ष केसीले भने,‘ नगरपालिकामा सडक स्तरवद्धिको लागि २५ लाख बजेट मध्ये साईकलचोक–नुवार–चुचुनदेउराली सडकलाई सम्बोधन गर्ने कुरा छ ।’ उक्त सडक सोलिङ नगरे सहज रुपमा सञ्चालन गर्न समस्या रहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung