
प्रेस युनियन पर्वतले नवनिर्वाचित सांसद तथा स्थानीय तहका प्रमुख, उप–प्रमुख सहित आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार सिल्मीमा आयोजित कार्यक्रममा समानुपातिक साँसद ललितकला गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उप–प्रमुख सिता काफ्ले लामिछाने, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, उपाध्यक्ष सिमा गर्बुजा पुन, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङलाई सम्मान गरेको छ ।
त्यस्तै सोहि अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारीलाई सम्मान गरेको छ । कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले अहिले काँग्रेस पराजय हुनुको कारण बारे प्रेस युनियनले निर्मम भएर समिक्षा गर्नुपर्ने बताए ।
जोशीले काँग्रेसको पराजयलाई अहिले अन्धो व्याक्तिले हात्ती छामे जस्तो समिक्षा गरिएको बताए । नेता जोशीले काँग्रेसको पराजय वाम गठबन्धनका कारण, नेतृत्वको असफलताका कारण र कसैले राम्रो मुद्धाका कारण भएको भनेर व्याख्या गर्ने गरेको बताउँदै वास्तविकता खोजी गर्नुपर्नेमा जोड दिए । कुन कारणले पराजित भएको भनेर प्रेस युनियनले निर्मम ढंगले लेख्ने र बोल्ने आँट गर्नुपर्ने जोशीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापती खिमप्रसाद भुसाल, समानुपातिक सांसद ललितकला गुरुङ, पूर्व सभापती नवराज गुरुङ, पार्टि सचिव विश्वप्रकाश प्रसाई, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेस युनियनका उपाध्यक्ष रमेशराज पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार जितबहादुर नेपाली, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य डिल्लीराम शर्मा लगायतले बोलेका थिए । प्रेस युनियन पर्वतका अध्यक्ष छबिलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रेस युनियन पर्वतका उपाध्यक्ष माया अधिकारी र सञ्चालन सचिव उत्तम अधिकारीले गरेका थिए ।