
म्याग्दीको मालीका गाउँपालिका–६रातोढुङ्गामा थकाली सेवा समाज दरबाङ क्षेत्रले सामुदायिक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालिम, विवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुविधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैया भन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् । सभाहल सहितको दुई तले भवनको सोमबार थकाली सेवा समाजका केन्द्रिय अध्यक्ष कृष्णकुमारी भट्टचनले उद्घाटन गरेकी हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष शेरचनले समाजले थकाली समुदायको कला, संस्कार र संस्कृतीको संरक्षणमा प्राथमिकता दिएको बताईन् ।
शेरचनले उक्त भवन निर्माणका लागि व्यक्तिगत रुपमा ५० हजार रुपैया सहयोग उपलब्ध गराएकी हुन् । भवन निर्माणका लागि देश बिदेशमा रहेका थकाली समुदायबाट २९ लाख ९७ हजार ६२५ रुपैया सहयोग जुटाइएको थियो । २७ लाख १८ हजार ९९७ रुपैयाको लागतमा भवन निर्माण भएको कोषाध्यक्ष बलबहादुर भट्टचनले जानकारी दिए ।
मंगला गाउँपालिका–५का लिला र पदम तुलाचनले दिवंगत अभिभावक भक्तबहादुर र हिरा शेरचनको स्मृतीमा ३ लाख र विदेशमा रहेका थकाली समुदायले ८लाख ६८ हजार ७ सय ४५ रुपैया सहयोग गरेका छन् ।
समाजको महिला समूहले भवन निर्माणमा सक्रिय भुमिका निर्वाह गरेकोमा कोषाध्यक्ष भट्टचनलाई सम्मान गरेका थिए । थकाली समुदायले भवन निर्माण गरेपनि अन्य समुदायको दुख, सुख र सामाजिक काममा भवनको प्रयोग गरिने समाजले जनाएको छ । सो कार्यक्रममा मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र ६ नम्बर वडाका अध्यक्ष सन्तोष सुवेदीले सरकारी निकायको सहयोग बिनै भवन निर्माण गरेर दरवाङ क्षेत्रका थकाली समुदायले नमुनायोग्य काम गरेको बताउँदै स्थानीय तहबाट आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । वडा अध्यक्ष सुवेदीले भवनका लागि व्यक्तिगत रुपमा ५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराए ।
कार्यक्रममा थकाली समाजका केन्द्रिय सदस्य गोपाल भट्टचन, बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनले पनी मन्तव्य व्यक्त गरेका थिए । थकाली सेवा समाज दरवाङ क्षेत्रका अध्यक्ष खड्गबहादुर भट्टचनको अध्यक्षता, सचिव धनबहादुर भट्टचनको सञ्चालन र केन्द्रिय सदस्य पृथ्वी भट्टचनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।