
पर्यटकिय गाउँ चित्रे प्रदेश नम्बर ४ कै पहिलो बालमैत्री शासन सहित वडा घोषणा भएको छ । सोमबार प्रतिनिधि सभा सदस्य पदम गिरीले चित्रेलाई प्रदेश नम्बर ४ कै पहिलो बालमैत्री वडा घोषणा गरेका हुन् । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, शासन लगायतका क्षेत्रमा निर्णायक भुमिका र सहभागिता हुन सके मात्रै नयाँ नेपालको कल्पना गर्न सकिने बताए । पर्वत जिल्ला यस्ता राष्ट्रिय अभियानको अगुवाई गर्ने जिल्लाको रुपमा विकासित हुने विश्वास पनि व्यक्त गरे । उनले वडा घोषणा लाई दिगो बनाउन जोड दिएका छन् ।
वि.सं. २०६७ साल मंसिर १७ गतेदेखि बालमैत्री अवधारणाको अभियान थालेको चित्रेले सोमबार ७ वर्षपछि मूर्त रुप पाएकोमा स्थानीय दंग छन् । सरकारी निकायका प्रमुखहरु पनि यो अभियानमा अगुवा बनेकोमा सन्तुष्ट छन् । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको आधिकार ३६ वटा विभिन्न अधिकारहरुको ग्यारेण्टी भएको सुनिश्चित भएपछि वडालाई बालमैत्री घोषणा गरिएको वडा सचिव गोकुल शर्माले बताए । उनका अनुसार ४ सय ७ घरधुरीका ३ सय ९५ जना बालबालिकाले सबै अधिकारको उपभोग गरेको र सरोकारवालाहरु सबैले बालबालिकाको अधिकारलाई व्यवहारमा उतारेपछि बालमैत्री वडा घोषणा गरिएको हो ।
चित्रेले बालमैत्री शासन कार्यान्वयन गर्न ९२ लाखको पञ्चवर्षिय योजना तय गरेको छ । मोदी गाउँपालिकाले पूँजीगत बजेटको १० प्रतिशत वजेट वालमैत्री शासनको कार्यान्वयनमा खर्च गर्ने योजना समेत पारित गरेको छ । गाउँपालिकाले आफैँ बालमैत्री कार्यविधी तयार गरेर सबै ८ वटै वडालाई अबको पाँच वर्षभित्र बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष प्रेमशर्मा पौडेलले जानकारी दिए । २०६९ पुष ८ गते खुल्ला दिशामुक्त घोषणा भएको चित्रे २०७१ जेठ २० गते पूर्ण खोपयुक्त बनेको थियो । २०७१ मदौ ७ गते पूर्ण साक्षर भएको यो गाउँ धुवाँमुक्त गाउँ बन्ने तयारीमा छ ।
पर्वतकै पहिलो पर्यटकिय गाउँ बनेको चित्रे अभियान थालिनी गर्ने अगुवा गाउँको नामले चर्चित छ । चित्रेले हरेक अभियानको अगुवाई गर्दै आएको वडाध्यक्ष सुकवहादुर गुरुङले बताए । यहाँका सबै टोलटोलमा ७ वर्षसम्म गरेको परिश्रमले सार्थक रुप लिएको गुरुङले बताए । २ हजार २ सय २३ जनसंख्या रहेको चित्रेमा राजनीतिक दल, जनप्रतिनिधी, विद्यालय, आमा समूह, युवा क्लव, वाल क्लव, होमस्टे समूह लगायतले सामुहिक प्रतिवद्धता गरि गाउँलाई बालमैत्री कायम गरिरहने बाचा गरेका छन् ।
बालमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समिति, जिल्ला प्रसासन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, स्वास्थ्य कार्यालय, महिला बालबालिका कार्यालय, प्लान नेपाल लगायतका संघ संस्थाले आर्थिक र प्राविधिक सहयोग गरेका छन् । ति निकायले बेलाबेलामा प्रशिक्षण, सहजीकरण, अनुगमन जस्ता कार्य गरेर अभियानलाई सार्थक बनाएको वडा अध्यक्ष गुरुङले बताए ।
उक्त कार्यक्रममा प्रदेश सांसद नेत्रनाथ अधिकारी, समानुपातिक सांसद ललितकला गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. विश्वकर्मा, नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाई, नेकपा एमालेका उपाध्यक्ष भक्त कुँवर, माओवादी केन्द्रका केन्द्रिय सदस्य गुप्त हमाल, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल लगायतले बालमैत्री शासनको दिगोपन कायम गर्न आग्रह गरेका थिए । कार्यक्रमको स्वागत सुशिलादेवी गुरुङ र सञ्चालन शिक्षक मधुसोधन अधिकारीले गरेका थिए ।