
सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं. वार्ड सडक सुविधाबाट बञ्चित छ । नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन् । गाडी चल्ने ठाउँ भेटाउन तीन घण्टासम्म पैदल हिँड्नुपर्छ । डोकोमा बोकेर अस्पताल लैँजादा बाटैमा बिरामीको मृत्यु भएका घटना गाउँलेसामु ताजै छन् । जिल्लाभर सडक सञ्जाल फैँलिदा नर्जाखानीमा किन सडक बनेन ?
वार्ड अध्यक्ष कुलबहादुर छन्त्याल भन्छन– ‘एक त विकट भूगोल त्यहीँमाथि राज्यको पनि ध्यान पुगेन ।’ उनका अनुसार अझै पनि गाउँमा सडक बन्ने कुनै छाँटकाँट छैन । स्थानीय सरकार तमानखोला गाउँपालिकाले पनि नर्जाखानीमा सडक जोड्ने योजना बनाएको छैन । ‘वार्डको मात्र बजेटले सडक आउँदैन, माथिबाटै सम्बोधन हुनुपर्छ’ वार्ड अध्यक्ष छन्त्यालले भने ।
विकासको मेरुदण्ड मानिने सडकनै नपुगेपछि पाएका अन्य सुविधा गाउँलेलाई सामान्य झैं लाग्छन् । ‘मुल कुरा सडकनै छैन, हामीलाई ठूलो दुःख छ’ स्थानीय निर्मलादेवी सिरपालीले भनिन । जतिसक्दो छिटो गाउँलाई सडकमा जोड्न सके ठूलो राहात मिल्ने उनको भनाइ छ । सरकारी कामकाजको लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार पुग्न पनि घण्टौं हिँड्नुपर्ने बाध्यता छ ।
विद्यार्थीको व्यथा त झन् कहालीलाग्दो छ । तीन घण्टासम्म पैदल हिँडेर विद्यालय जानुपर्ने अवस्था छ । खच्चड र भरियामार्फत् ढुवानी गर्दा दैनिक उपभोग्य सामानमा पनि महँगी खेप्न गाउँलेहरु बाध्य छन् । लघु जलविद्युत् आयोजनाबाट बिजुली र पछिल्लो समय मोबाइल सेवा पाएका गाउँलेहरु सडकको व्यग्र प्रतिक्षामा छन् । नर्जाखानी विकासमा पछि परेको स्थानीय विष्णु आधारभूत विद्यालयका प्रअ ओमप्रसाद छन्त्यालले बताए ।
‘स्थानीय सरकार आएको छ, अब विकास आउला भन्ने अपेक्षा छ’ उनले भने ‘यहाँको जरुरी आवश्यकता भनेको सडक नै हो ।’ गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेपनि चालू आवमा नर्जाखानीमा कुनै सडक योजना छैन । विकट भूगोल र छरिएर रहेका वस्तीका कारण सडकलाई ठूलो बजेट चाहिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
‘आगामी वर्षको योजनामा नर्जाखानी समेट्छौं’ उनले भने ‘मार्ग खोल्न मात्र करोडौं रुपैयाँ लाग्ने अवस्था छ ।’ अहिले सडक पुगेको वार्ड नं. ५ खुङ्खानीबाट नर्जाखानीको भित्रीवन र पात्ले तीन घण्टाको पैदल दुरीमा छन् । सडकसँग जोडिए त्यहाँको स्थानीय उत्पादनले बजार पाउने देखिन्छ । कृषि र पशुपालनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रको अर्को समस्या गरिबी, अशिक्षा र बेरोजगारी पनि हो ।
दलित र जनजातिको मात्र बसोबास रहेको तमानखोला गाउँपालिका जिल्लामै सबैभन्दा विकट मानिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सुविधाबाट त्यहाँका बासिन्दा बञ्चित छन् । गाउँपालिकाले विकास गुरुयोजनामार्फत् त्यहाँका समस्या समाधानको लागि पहल अघि बढाएको छ । स्थानीय स्रोतसाधानको पहिचान र उपभोगबाट गाउँपालिकालाई स्वाधिन बनाउने लक्ष्य लिइएको छ ।
राससबाट