३ जेष्ठ २०८१, बिहीबार

 

बाख्रापालनबाट तंग्रामका किसानलाई वार्षिक १ करोड आम्दानी

दक्षिण कोरियाबाट घर फर्केपछि के काम गर्ने होला ? भनेर अलमलिएका सुरेश घर्ति मगरको आजभोलीको दिनचर्या बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको फापरखेतका घर्ति मगरको दैनिकी बिहानदेखि सांझसम्मै बाख्राको हेरचाहमा बित्ने गरेको छ । घर नजिकैको गोठमा ४० वटा बाख्रा पालेका घर्ति बाख्राको खोर बनाउने, सरसफाई गर्ने र बाख्रा चराउने लगायतका व्यवस्थापनमा लागेका हुन् । सुरेशसंगै उनकी श्रीमती र परिवारका अन्य सदस्य समेत यतिबेला बाख्रापालनमा केन्द्रीत भएका छन् ।

बाख्रापालनबाट मनग्गे आम्दानी हुन थालेपछि यही पेशालाई बढाउदै लैजाने सोंचमा उनी छन् । सुरेश घर्ति मात्रै होइन, रोजगारीका लागि बहराइनमा गएर लामो समय बसेका सोही ठाउँका मेखबहादुर पुन पनि अब विदेश नजाने सोचाईमा छन् । विदेशमा कडा मेहेनतको काम गर्दा विरामी परियो, विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ कि ? भनेर बाख्रापालन शुरु गरेका उनले अब यही पेशालाई बढाउने सोच रहेको बताए । विदेशमा गरेको धेरै कमाई भन्दा स्वदेशमा गरेको थोरै कमाई गर्विलो हुन थालेको छ, त्यसैले अब यतै बाख्रा, कुखुरा पालेर परिवार पाल्ने योजना बनाएको छु उनले भने ।

सुरेश र मेखबहादुर संगै चन्द्रबहादुर पुनको परिवार पनि बाख्रापालन व्यवसायमा लागेको छ । प्यारालाइसिसले ग्रसित बनेका चन्द्रबहादुर परिवारलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने अभियानमै जुटेका छन् । उनले पनि ४० वटा बाख्रा पालेका छन् । मगर समुदायको अत्यधिक बसोबास रहेको तंग्राममा व्यवसायिक बाख्रापालन गर्ने प्रचलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले बाख्रा उपहार कार्यक्रम सञ्चालन गरेपछि स्थानीयहरु बाख्रापालनतर्फ अग्रसर भएको अर्का बाख्रापालक कृषक यामबहादुर पुनले बताए । कोरियाबाट फर्केर स्वदेशमै आयआर्जन र सामाजिक कार्यमा लागेका यामबहादुरसंगै तंग्रामका महिलाहरु सहकारीमा आवद्ध हुने र सपरिवार मिलेर बाख्रा, कुखुरापालन व्यवसाय गर्न थालेका छन् ।

विवाइसीले पहिलो पटक एउटा बाख्रो दिएको थियो, त्यसैलाई बढाउदै र केही थप गर्दै अहिले ४० वटा बाख्रा पालेका सुरेश घर्तिले विदेशबाट फर्केपछि के गर्ने होला ? भनेर अलमलिएको अवस्थामा हेफर कार्यक्रम अन्तरगत बाख्रो पाएपछि यो पेशामा लाग्न प्रेरणा मिलेको बताउछन् ।
हेफर कार्यक्रम अन्तरगत फापरखेतमा सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्था मार्फत जना कृषकलाई बाख्रापालनमा सक्रिय बनेका हुन् ।

सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढेको छ । प्रत्येक परिवारमा २÷४ वटा बाख्रा अनिवार्य पाल्ने गरेका छन्, व्यवसायिक रुपमा बाख्रा पाल्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको यामबहादुर पुनले बताए । घरका महिलाहरु सहकारीका सदस्य बनेका छन्, उनीहरुलाई पुरुषहरुले राम्रो सहयोग र समन्वय गरेका कारण वर्षमा १ हजार गोटा भन्दा बढी खसी बोका तंग्रामका दुईवटा सहकारीमार्फत बजारमा विक्री हुने गरेका छन् ।


सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर विक्री गर्दै आएका छन् । संस्थाले प्रति केजी ५ रुपैया लिएर सदस्यले उत्पादन गरेका खसी बोका बजारमा विक्री गर्दै आएका छन् । सहकारीमार्फत सदस्यको उत्पादन विक्री गरेर उनीहरुको आयआर्जन वृद्धि गराउन पाउदा आनन्द आउने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले बताइन् ।

साप्ताहिक रुपमा दुई संस्थाले खसी बोका खरिद गरेर विक्री गर्ने गरेका छन । आर्थिक वर्ष २०७४÷०७५ मा सप्तरंगी सहकारीमार्फत ७ सय ८५ गोटा खसी विक्री गरी ८६ लाख रुपैया आम्दानी गरिएको संस्थाका प्रवन्धक मनकुमारी पुनले जानकारी दिइन् । यस्तै बसन्त सहकारीमार्फत १ सय ४० गोटा खसी बोका विक्री गरि १४ लाख ९० हजार ६ सय आम्दानी गरिएको संस्थाका प्रवन्धक हेमा वि.कले जानकारी दिइन् । दुईवटा सहकारी मार्फत तंग्रामका बाख्रापालक किसानहरुले वार्षिक १ करोड रकम घर भित्र्याउन थालेका छन् ।

हेफर इन्टरनेशनलमार्फत विवाइसी बागलुङले साविक तंग्राम गाविसमा विगत ६ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाबाट सप्तरंगी सहकारीमार्फत २ सय २९ जना र बसन्त सहकारी मार्फत ७ सय ११ जना सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिइन् ।

महिलाहरुलाई सदस्य बनाइ आयआर्जनमा केन्द्रीत गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यहरुले सहयोग गरेका कारण विगत ३ वर्षदेखि वार्षिक १ करोड रकम आम्दानी गर्न थालेका छन् । बाख्रापालक कृषकहरुले समयमा उपचार नपाएका कारण बाख्रा मर्ने गरेको भन्दै सम्बन्धित निकायबाट समयमै उपचारको व्यवस्थाको माग गरेका छन् । विदेश छोडेर युवाहरु बाख्रापालन, कुखुरापालनतर्फ लागेका छन्, उनीहरुलाई प्रोत्साहित गर्ने काम राज्यको भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्