२ जेष्ठ २०८१, बुधबार

 

हिंसाको बलमा कस्तो परिवर्तन ?

मुलुकको शान्ति र समृद्धितर्फ नेतृत्व कहिले जिम्मेवार होला ? कुशल नेतृत्वले आफ्नो विपरीत मत राख्नेलाई पनि स्थान दिन सक्नुपर्छ । लोकतान्त्रिक व्यवस्थाकोे अन्तर्निहित भावना पनि त्यही हो । तर दुर्भाग्य, सात दशकको अस्थिरता, बलिदानी र उत्सर्गबाट आएको लोकतन्त्रले मुलुकमा अझै शान्ति, सुव्यवस्था कायम गर्न सकेन । लोकतन्त्रमा लोकमतका आधारमा शासनसत्ता सञ्चालन हुनुपर्छ । नागरिक अभिमतलाई सधैं उच्च सम्मान गर्न सक्नुपर्छ । तर नेतृत्वको संकीर्ण चेतले सधैंभरि प्रतिशोधप्रेरित शासन–व्यवस्था सञ्चालन हुँदै आइरह्यो ।

विपक्षीले अञ्जानवश गरेका कमीकमजोरी र गल्तीमा क्षमा गर्न सक्नुपर्छ । तर हामीकहाँ त्यस्तो नेता र नेतृत्वको सधैं अभाव रहिरह्यो । कहिल्यै जिम्मेवार नेतृत्वबाट शासनसत्ता सञ्चालन हुन सकेन । त्यसैको उपज हो, वर्तमान हिंसाको राजनीति ।

आज बुद्धको देशमा अशान्ति, भय र त्रास कायम छ । समाजमा हिंसाले प्रश्रय पाइरहेको छ । बम र बारुद नै शक्तिका स्रोत हुन् भन्ने मनोविज्ञानबाट बालमस्तिष्क प्रशिक्षित छन् । आफूलाई क्रान्तिकारी साबित गर्न लागिपरेको विप्लव समूह त्यही विचार र चिन्तनको परिणाम हो ।

आइतबार राजधानीमा भएका विस्फोट र तिनमा चार जनाको मृत्युको समाचारले हिंसाको मनोविज्ञानलाई जागृत गराएको छ । नागरिक तहबाट हेर्दा यस्तो हिंसा कुनै हालतमा क्षम्य हुन सक्दैन । उक्त घटनाले मुलुकमा अझै पनि शान्ति कायम भइसकेको छैन भन्ने सन्देश प्रवाह भएको छ । एउटा राजनीतिक शक्ति हिंसाको बलमा आफूले चाहेको परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासमा छ । उसको विगतको पृष्ठभूमि पनि त्यही (हिंसा) हो । त्यसैले उसको विचार र चिन्तनका बारेमा प्रशिक्षित गर्नेहरूले ढिलै भए पनि सोच्न आवश्यक छ, विगतमा अवलम्बन गरेको मार्ग कति सही थियो भनेर । आज त्यो आदर्श प्रशिक्षित गर्ने शक्ति र व्यक्ति सत्ता र सत्ताको वरिपरि छन् ।

विगतमा पनि त्यो शक्तिले बुझ्न नसकेको कुरा त्यही थियो, हिंसापूर्ण जीवनशैली कति प्रताडित हुन्छ भनेर । हिंसामार्फत परिवर्तन खोज्ने शक्तिले भोलि त्यसरी नै अर्काले आफूलाई विस्थापित गर्ला भनेर ध्यान पु¥याउन नसकेको देखिन्छ । आज सत्तामा विराजमान भइरहँदा विगतका गल्ती र कार्यशैली समीक्षा गरेर प्रायश्चित् गर्न नसक्नु नेकपाका अध्यक्ष प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भएको छ । उनलाई आदर्श मानेर राजनीति सिकेका नेत्रविक्रम चन्द (विप्लव) आज उनैलाई चुनौती बनेका छन् । हिंसा तत्कालका लागि शक्तिको स्रोत बन्न सक्ला तर कालान्तरमा आफ्नै लागि असुरक्षा हो, जुन अवस्था अहिले प्रचण्डले भोगिरहेका छन् । उक्त दृष्टान्त बिर्सिई विप्लवले हिंसाको सहारामा व्यक्तिहत्या गरेर क्रान्ति गर्न खोज्नु अस्तयसिवाय केही होइन ।

अहिले पनि हिंसाका माध्यमबाट सत्ता परास्त गर्न सकिन्छ भन्ने विश्वासमा उनले क्रान्ति जारी राखेका छन् । त्यसले जनता र देशलाई उन्नतिको मार्गमा पु¥याउँदैन । त्यो कुरा आज उनलाई कसले बुझाइदिने ? विगतमा उनी विद्रोह र हिंसाको ‘स्कुलिङ’बाट प्रशिक्षित भएर आएका व्यक्ति हुन् । त्यसैले अहिले पनि उनी त्यसरी नै परिवर्तन सम्भव छ भन्ने विश्वासमा छन् । आफ्ना अग्रजहरूसँग वैचारिक मतभेद राखेर क्रान्तिका नाममा हिंसा मच्चाइरहेका छन् । उनको वैचारिक मतभेद आफ्नो स्थानमा सही वा गलत जे होला । तर, नागरिक मतबाट कसी लगाउनुको सट्टा व्यक्तिहत्याको सिद्धान्त अंगालेर हिंसक क्रान्ति चलाउनु सर्वथा गलत हो । जुन अत्यन्तै असान्दर्भिक र आततायी छ । त्यस्तो क्रान्तिले वर्तमानमा सार्थक निष्कर्ष र परिणाम दिँदैन ।

उनले सामाजिक मनोविज्ञान बेवास्ता गरेर क्रान्ति चलाएका छन् । यसबारे समीक्षा गरेर उनलाई बुझाउन नसक्नु वर्तमान नेतृत्वको कमजोरी हो । उनले उठाएका सवालमा वैचारिक छलफल गर्नुको सट्टा दमन गरेर शासन गर्न सकिन्छ भन्ने मानसिकता राख्नु शासकको दम्भ हो । दम्भ र प्रतिशोधबाट आउने परिणाम हिंसा नै हो । प्रतिशोधबाट जन्मिएको हिंसाले राज्यलाई कमजोर बनाउँछ । राज्य कमजोर बनिरहँदा समृद्धिको लक्ष्यमा पुग्न सकिँदैन । समृद्धिको जगमा शान्ति छ भन्ने कुरा बिर्सिएर राज्यले आफ्ना विपरीत मत राख्नेहरूलाई हतियारको बलमा दमन गर्न खोज्नु प्रतिशोध हो । राज्यले आफ्नो चरित्रमा परिवर्तन गर्न आवश्यक छ ।

चरित्र शुद्धीकरण गरेर न्यायमा आधारित सुशासन कायम गर्न राज्य तत्पर हुन सक्नुपर्छ । त्यसले पक्कै पनि हिंसा निस्तेज हुनेछ । राज्य व्यक्तिहत्याको स्तरमा उत्रन हुँदैन । पछिल्लो हिंसा राज्यले आफ्नो नियन्त्रणमा लिएका विप्लवका कार्यकर्ता तीर्थ घिमिरेको हत्याबाट उत्पन्न भएको हो । सरकारसँगको प्रतिशोधमा नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकारमा धावा बोल्नु विप्लव समूहको अविवेकी कदम हो । अब पनि हिंसाको बलमा शासनसत्ता परिवर्तन हुन्छ र त्यसको सर्वाेच्च शक्तिमा आफू नै रहिरहनुपर्छ भन्ने सोच राख्नु भविष्यप्रति धोखा हो । देश र जनताप्रति खेलबाड हो ।

त्यसैले हिंसालाई तिरस्कार गरेर सरकार र विप्लव समूहले जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारका पक्षमा आफूलाई समाहित गर्न सकुन् । हामी नागरिक र नागरिक समाजले पनि दुवै शक्तिलाई भन्न सक्नुपर्छ– अब पनि हिंसाको सहारामा कस्तो परिवर्तन ? न्यायमा आधारित शासन–व्यवस्थाको अभावमा कस्तो समृद्धि ? राष्ट्रियता, राज्य र संविधानलाई साक्षी मानेर जनताको अधिकारमा प्रतिबद्ध हुन राज्य र विद्रोहमा विश्वास राख्ने शक्ति जिम्मेवार हुन सकून् ।

शान्ति, शान्ति, शान्ति ।

प्रतिक्रिया दिनुहोस्