आनन्द केले आउँछ ? मानिसअनुसार फरकफरक उत्तर हुन सक्छ । मन्दिरा श्रेष्ठलाई भने समाजसेवामा लाग्न पाउँदा अलौकिक आनन्द लाग्दो रहेछ । आनन्द प्राप्तिको यही भोकले उनको परिचय थपिएको छ– समाजसेवी ।
जीवनमा सबै चिज भनेजस्तो हुँदैन । खोजेका सबै कुरा पाइँदैन । यही नपाएर थुप्रै मानिस दुःखी रहन्छन् । ‘मनलाई शान्ति र आनन्द दिन तपाईं समाजमा फर्कनुपर्छ । जहाँ दीनदुःखीहरू तपाईंको सानो सहयोग र सद्भाव पर्खेर बसेका छन्,’ श्रेष्ठ भन्छिन्, ‘तिनीहरूकहाँ पुगेर सहयोग गर्न सके बल्ल मनलाई सन्तुष्टि मिल्छ ।’
परिवारकी कान्छी छोरी उनी । सानै उमेरमा आमा गुमाउनुपर्यो । बुबा दाजु , भाउजु ,दिदीहरूले निकै माया गरेर हुर्काए । कुनै कमी हुन दिएनन् । ‘तैपनि जीवनमा सबैले भनेजस्तो हुँदैन, केही न केही कमी हुन्छ नै,’ उनले सम्झिइन्, ‘उपचार गराउँदा–गराउँदैकी आमा त्यति छिट्टै हामीलाई छाडेर जानुहोला भन्ने कसले सोचेको थियो र’
बागलुङ नगरपालिका–३ को नारायण चोक उनको माइती हो । त्यहीँ हुर्किइन्, बढिन् । कक्षा ३ सम्म घरनजिकैको कालिका कन्या माविमा पढिन् । त्यसपछिको पढाइ विद्यामन्दिर माविमा ।
अहिले काठमाडौंको न्युरोडमा बस्छिन् । तर, घरगाउँको सम्झनाले तानेर उनलाई बेलाबखत बागलुङ पुर्याइरहन्छ । घरपरिवारबाट समय निकालेर त्यहाँ र सहयोगको आवश्यकता रहेको हरेक ठाउँमा उनी सेवामा समर्पित हुन्छिन् ।
सामाजिक काममा उनको पहिलो खुड्किलो थियो, बागलुङ समाज कल्याण केन्द्र महिला समूहमा आबद्धता । अहिले उक्त समूहको कोषाध्यक्षसमेत छिन् ।
‘साथीहरूसँग मिलेर केही नयाँ काम गरौं भनी हरसम्भव कोसिस गरेका छौं,’ उनले भनिन्, ‘हाम्रा दिदी–भाउजूहरूले यो संंस्था स्थापना गरेर नारीहरूलाई अगाडि बढ्ने र आफ्नो पहिचान खोज्ने गतिलो माध्यम बनाइदिनुभएको छ ।’
उक्त समूहले बागलुङका थुप्रै छोरीचेली र बुहारीलाई सामाजिक काममा अग्रसर हुने र व्यक्तित्व विकास गर्ने मञ्च उपलब्ध गराएको छ । अघिल्लो पुस्ताको यो योगदान कहिल्यै भुल्न नसकिने खालको लाग्छ श्रेष्ठलाई ।
श्रेष्ठले आफूले पढेको कालिका कन्या माविमा एक लाख रुपैयाँमा खानेपानीको ट्याङ्की ,युरोगार्ड र ह्वाइटबोर्ड सहयोग गरेकी छन् । विद्यामन्दिर माविमा खानेपानीको धारा बनाइदिएकी छन्, दुई लाख खर्चिएर ।
धारा त बन्यो तर खुला ठाउँमा । बर्खामा विद्यार्थीलाई त्यहाँ पुगेर पानी पिउन असहज हुने भयो । प्रधानाध्यापक जगन्नाथ आचार्यले धारामा छत हाल्दा विद्यार्थीलाई सुविधा हुने देखेपछि श्रेष्ठलाई आग्रह गरे ।
अहिले उनी त्यही छत बनाइदिन लागिपरेकी छन् । लग भग तयार पनि भइसक्यो । ‘पुष्पमान दाईले विद्यामन्दिर माविमा पूर्व विद्यार्थीको नाताले केहि सहयोग गर्नु पर्यो भनेर भन्नु भएपछि यो अभियानमा जोडिएकी हुँ,’ उनले भनिन् ।
विद्यामन्दिर माविमा आधुनिक बालविकास कक्षा सञ्चालनमा छ । श्रेष्ठले त्यहाँका बालबालिकालाई पोसाक उपलब्ध गराएकी छन् । भविष्यमा पनि निरन्तर सहयोग गरिरहने गरी साइनो गाँसेकी छन् ।
‘हाम्रो सानो सहयोगले दीनदुःखीलाई केही मद्दत हुन्छ भने पछि हट्न हुँदैन, सहयोगी हातहरू सधैं उनीहरूको साथमा हुनुपर्छ,’ उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा सम्झना र आत्मा सन्तुष्टि पनि हो ।
तपाईंलाई समाजले कसरी मूल्यांकन गरेको छ, त्यसैबाट जिन्दगीको छिनोफानो हुन्छ । हामीले आफूलाई केन्द्रमा राखेर सधैं सोचिरहन्छौं तर हृदय विशाल बनाउन सक्नुपर्छ ।’
मैले नियमित मासिक रुपमा मानवसेवा आश्रम ,सामाखुशिलाई सहयोग गरिरहेकी छु । मलाई सामाजिक काममा अगाडि बढ्न मेरो श्रीमान मथुरा श्रेष्ठ, छोरा अनमोल श्रेष्ठ र परिवारको ठुलो साथ र सहयोग रहेको छ । उहाँको माया र सदभावले म समाजसेवामा निरन्तर लाग्न हौसला र मनोबल पाएकी छु ।
बागलुङ समाज कल्याण केन्द्र महिला समूहमा आवद्ध हामीले नियमित बैठक बसेर सामाजिक ,शैक्षिक ,धार्मिक र दैवी प्रकोपमा परेका पिडित दाजुभाई र दिदी बैनीहरुलाइ हरसंम्भव सहयोग गरिरहेका छौं ।