३ जेष्ठ २०८१, बिहीबार

 

‘एकीकृत विकासमा जोड दिएका छौं’

जनकराज पाैडेल,

मेयर, बागलुङ नगरपालिका

स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष बितेको छ । कस्तो रह्यो अनुभव ?
सन्तोषजनक नै छ । राज्य संरचना पुनरावलोकनसँगै स्थानीय तहको जनप्रतिनिधि निर्वाचित भएर यो जिम्मेवारी पाउँदा खुसी छु । केही अप्ठ्यारा र चुनौती पनि सामना गर्नुपरिरहेको छ । ती भनेका केही व्यावहारिक र केही कानुनी प्रक्रियाका छन् । ती चुनौती आफैंमा प्राविधिक हुन् भन्ने लाग्छ । मतदाता र कार्यकर्ताको सद्भाव पाइरहेको छु । त्यसका लागि धन्यवाद पनि भन्न चाहन्छु । स्नेह, सद्भाव, प्रेम र जिम्मेवारीबीच सन्तुलन मिलाउनुपर्ने अवस्था छ ।

जनताका काममा व्यस्तता कत्तिको हुँदो रहेछ ?
व्यस्त त हुनै प¥यो । जिम्मेवारी लिएपछि पन्छिन मिल्दैन । नयाँ संरचनाको जग पनि बसाल्नुपर्ने भएकाले सहज पक्कै छैन । केन्द्र, प्रदेश र स्थानीय तहबीच कतिपय जिम्मेवारीमा अहिले पनि अस्पष्टता रहेकाले समन्वयकारी भूमिका निर्वाह गरिरहनुपरेको छ । विकास, बजेट, ऐन नियम र कानुनका विषयमा ध्यान पु¥याउन परिरहेको छ ।

समस्याको समाधान कसरी गर्ने भन्ने छ । सरसफाइ, खानेपानी, सडक, बाटोको पहुँच, शिक्षा र स्वास्थ्यका कुरा छन् । ती सबै विषयमा धेरै समस्या पनि छन् । एकातिर नीतिनियम निर्माण गर्ने जिम्मेवारी छ भने अर्कातिर जनताका गुनासा पनि सुन्नु छ ।

आफ्नो कार्यसम्पादनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । तर अझै धेरै गर्न सकिने सम्भावना नभएको होइन । सुखी र समृद्ध हुने सबैको चाहना हुन्छ । इच्छा र आकांक्षा फरक–फरक विषय हुन् । हामीले इच्छा–चाहना के–के रहे भनेर बुझ्न खोज्यौं । गाउँमा उत्पादनको सम्भावना र बजारसम्म कसरी पु¥याउने भन्ने विषयमा केन्द्रित छौं । बजार व्यवस्थापन, सरसफाइका कुरा छन् । नगरमा पनि फोहर, खानेपानीको समस्या छ । पाइप व्यवस्थापन गर्न आवश्यक छ ।
हाम्रो बजेट ६० करोड हो । त्यसलाई चुस्त प्रशासन र विकास निर्माणमा खर्चन लागिपरेका छौं । एयरपोर्ट कालोपत्रे गर्नुपर्नेछ । ती सबै काम आगामी वर्ष सक्ने गरी अघि बढेका छौं । चीन र सिक्किमबाट इन्जिनियर झिकाएरै किन नहोस्, विकास परियोजना अघि बढाउने योजनामा छौं । परिणामका लागि आफैंले केही गर्न आवश्यक छ ।

हामीसँग खानी र प्राकृतिक स्रोत छन् । तिनको अध्ययन–अनुसन्धान गर्नुपर्छ । हामीले स्मार्ट सिटीको कुरा गरेका छौं तर स्थानीय तहमा पूर्वाधार छ/छैन, ध्यान दिएका छौं त ? धेरै कामलाई परियोजना बनाएर अघि बढाउन सकिन्छ । जस्तै, पानी त पु¥यौं तर त्यहाँ सरसफाइलाई ध्यान दिएनौं भने बस्ती फोहर हुन्छ । त्यसैले एकीकृत विकासमा जोड दिन आवश्यक छ ।

 गाउँपालिकादेखि बागलुङ नगरपालिकासम्मको क्षेत्रलाई कसरी विकासको अनुभूति गराउन सकिएला ? निजी क्षेत्रलाई त्यो विकास प्रक्रियामा कसरी सहभागी गराउन सकिन्छ ? केही योजना छन् कि ?

वास्तवमा हामीले यहाँको विकासलाई आफ्नै किसिमले ध्यान दिएका छौं । परम्परागत ढंगबाट सोचेर मात्र पनि हुँदैन । नयाँ सम्भावना के छन्, खोजी गरिरहेका छौं । कृषि क्याम्पसको अवधारणा अघि बढाएका छौं । कृषि–उत्पादन बजारीकरण गर्ने गरी बजारमा राम्रा पसल छैनन् । त्यसैले पसलसम्मकै कन्सेप्ट अघि सारेका छौं ।

निजी क्षेत्रलाई पनि विकास–निर्माणमा सहभागी गराएर सहज तरिकाबाट सेवाप्रवाह गर्दै जाने विषयमा ध्यान दिएका छौं । सामुदायिक विद्यालयमा शैक्षिक व्यवस्थापनको सवाल होस् वा बालविकास कक्षा सञ्चालन, गुणस्तर सबैमा ध्यान दिइरहेका छौं । कतिपय पुराना योजना काम हुन नसकेको अवस्थामा छन् । तिनलाई सम्पन्न गर्ने जिम्मेवारी छ ।

ग्रामीण बासिन्दाको जीवनस्तर उठाउन के–कस्ता योजना छन् ?
पर्यटन व्यवसायमा आधारित कार्यक्रम, कृषि–उत्पादन वृद्धि गर्नेलगायत छन् । जस्तै– ट्रेकिङ रुट विस्तारदेखि कृषि–उत्पादन वृद्धिसम्मका योजना तथा कार्यक्रम तर्जुमा गरेका छौं । तिनलाई मूर्त रूप दिएर कार्यान्वयन गर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्