४ जेष्ठ २०८१, शुक्रबार

 

ग्राम विकास विद्यालय ६२औं वर्षमा

बागलुङको काठेखोला गाउँपालिका–५ स्थित ग्राम विकास आधारभूत विद्यालय स्थापनाको ६२औं वर्षमा प्रवेश गरेको छ ।

विद्यालयले शनिबार र आइतबार दुई दिन विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक, विद्यार्थी र अभिभावक तिनै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने बताए ।

उनले भने, ‘शिक्षक, विद्यार्थी र अभिभावक एउटै ओदानका ३ खुट्टाजस्तै हुन् । यसमा एक खुट्टाले काम नगर्ने हो भने पकाउन बसालेको भात अगेनीमा नै पोखिन्छ । उनले सबैलाई जिम्मेवार भई विद्यालयलाई प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरे ।’
थापाले सरकारी लगानी भएको सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टिकोण सुधार गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विद्यालय र समुदाय सबै एकजुट भई गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
थापाले काठेखोला गाउँपालिकाका ५६ वटै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने गुरुयोजना सुरु गरिएको बताए ।

उनका अनुसार आगामी आवमा शिक्षा क्षेत्रका लागि १५ करोडबराबरको लगानी गर्ने तयारी छ । अधिकांश विद्यालयमा शिक्षक दरबन्दी कम भएकाले त्यसको व्यवस्थापन गरिने जनाउँदै उनले भौतिक संरचना कमजोर भएका विद्यालयमा सुदृढीकरणका काम अगाडि बढाइने बताए ।

थापाले ग्राम विकास विद्यालयको भौतिक अवस्था पनि कमजोर रहेकोमा तत्कालै सुधारका काम थाल्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै विद्यालयका प्रधानाध्यापक विश्वपति शर्माले रु. ३३ लाख २९ हजारबराबरको आम्दानी–खर्चको विवरण सार्वजनिक गरे । विद्यालयको आधारभूत तहमा कुनै पनि दरबन्दी नहुँदा समस्या भएको उनको गुनासो छ ।

कार्यक्रममा विद्यालयका सल्लाहकार एवं अमर माविका निमित्त प्रधानाध्यापक रघुपति शर्मा, ज्ञाननाथ कँडेल, पूर्वप्रधानाध्यापक ज्ञानकुमारी श्रीष शर्मालगायले धारणा राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्