बागलुङ । पर्यटन प्रवद्र्धन गरी व्यवसायीक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले बागलुङमा १९२ देशका झन्डा फहराइएको छ ।
बागलुङ बजारको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कलाई व्यवस्थित गरि संयुक्त राष्ट्रसंघमा आबद्ध देशहरुका झन्डा फहराइएको हो ।
विश्वभरका पर्यटकलाई आर्कषित गर्न पार्कमा झन्डा राखिएको छ । यसले बजार क्षेत्रको सौन्र्दयताका साथै आन्तरिक तथा बाह्य पर्यटकमा टेवा पुग्ने गरि बागलुङ नगरपालिकाले झन्डा राखेको छ ।
विश्व शान्तिको कामनासँगै सबै राष्ट्रहरुसँगको सम्बन्धमा सम्मान पुग्ने गरि झन्डा राखिएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए।
बागलुङलाई पर्यटकीय क्षेत्रको रुपमा अन्तर्राष्ट्रिय बजारमा परिचित गराई आर्थिक क्षेत्रको विकास गर्न ठूलो सहयोग पुग्ने उनको भनाई छ । यसले बजार क्षेत्रको आकर्षण बढाउनुका साथै व्यवसाय क्षेत्रलाई वृद्धि गराउन सहयोग पुग्ने श्रेष्ठको भनाई छ ।
धौलागिरि क्षेत्रमा भित्रने पर्यटकहरुलाई यस क्षेत्रको पहिचान गरि आर्थिक,सामाजिक रुपमा विकास पु¥याउने गरि बागलुङ नगरपालिकाले १२ लाख रुपैया खर्च गरि विश्वभरका झन्डा राखेको छ ।
देशकै धार्मिक शक्तिपिठका रुपमा रहेको बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्राहालय र सिङगल स्पान प्रविधिको विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल अवलोकनको लागि दैनिक आउने पर्यटकलाई झन्डाले थप लोभ्याएको स्थानीयको भनाई छ ।
पार्कसँगै विभिन्न धार्मिक सांस्कृतिक सम्पदा तथा पर्यटकिय क्षेत्रको पहिचान गराउन पार्कको पर्खालहरुमा कलाको माध्यमबाट चित्रकला तयार गरिएको छ ।














































































































































































































