४ जेष्ठ २०८१, शुक्रबार

 

‘सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताएका छन् ।

तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन गरिने बताएका छन् ।

उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबल र कुशल जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्रै प्राप्त हुन्छ । शिक्षाले उत्पादन, श्रम, रोजगार र आत्मनिर्भरतालाई जोड्न सक्नुपर्छ । त्यसका लागि हामी नीतिगत र कार्यक्रमिक पुनःसंरचनाको चरणमा छौँ ।”

उनले ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिइएको र आगामी आर्थिक वर्षमा मुलुकका ७० जिल्लासम्म पूर्ण साक्षर घोषित हुने पनि बताए । दक्षिण कोरियाली संस्था अम होँङ गिल ह्युमन फाउण्डेशनको करीब २० करोड सहयोगमा निर्माण हुने पुस्तकालय तथा बहउद्देश्यीय कभर्ड हलको उपप्रधानमन्त्री पोखरेलले शिलान्यास गरे ।

उपप्रधानमन्त्री पोखरेलले कोरियाली नागरिक अम होँङलाई नेपालको मानार्थ नागरिकता दिने विषयमा सरकारले चाँडै निर्णय गर्ने पनि सुनाए ।

फाउण्डेशशनले यसअघि नेपालमा विभिन्न १५ विद्यालयमा भवन निर्माण गरिसकेको छ । नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट अझै अपर्याप्त भएको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्