८ जेष्ठ २०८१, मंगलवार

 

स्कुल दिउँसो चलाउन बागलुङ नगरको निर्देशन

बागलुङ नगरपालिकाले सामुदायिक र निजी विद्यालयलाई पत्राचार गर्दै १ देखि १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ ।

तीन वर्षअघि नै शिक्षा विभागले यस्तो निर्देशन दिएकामा विद्यालयहरूले अटेरी गरेपछि बागलुङ नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले पत्र लेखेका हुन् ।

विभागसँगै स्थानीय तहको पत्रसमेत विद्यालयहरूले बेवास्ता गरेका छन् । सदरमुकाममै रहेका विद्यामन्दिर मावि र कालिका कन्या माविले बिहानी कक्षा चलाइरहेका छन् ।

जिल्लामा बिहानी कक्षा चलाउने अझै दर्जनजति विद्यालय छन् । उनीहरूले शिक्षक र भवन अभावको बहाना देखाएका छन् ।

कतिपयले कक्षाकोठा अभावलाई कारण देखाएको शिक्षा विकास तथा समन्वय एकाइप्रमुख कुश्मराज उपाध्यायले बताए । भवन बनिसक्दा पनि ती विद्यालयले बिहानी कक्षा सञ्चालन रोकेका छैनन् ।

बिहानी कक्षाको फाइदा उठाउँदै शिक्षकहरू दिउँसो अन्त काम गर्न जाने गरेका छन् । विद्यामन्दिरका मात्र २० जना शिक्षक बिहान त्यहाँ पढाएर दिउँसो विभिन्न क्याम्पस र बोर्डिङतिर कुद्छन् ।

शिक्षा अधिकारी शर्माले अब अनिवार्य दिउँसो कक्षा चलाउन निर्देशन दिइएको बताए । ‘जे जस्तो बहाना भए पनि अब दिउँसोमै चलाउनुपर्छ, हामीले निर्देशन पनि दिएका छौं,’ उनले भने, ‘परीक्षा सकेर बसेको बेला छ, अबको कक्षा दिउँसोमै चल्नुपर्छ ।’

विद्यामन्दिरमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय बिहान सञ्चालन भइरहेको छ ।

विज्ञान संकायको कक्षा भने दिउँसो चलाइएको प्रअ शान्तमणि ढकालले बताए । बिहान ४ घण्टा मात्र पढाइ हुन्छ । नियमावलीमा विद्यालय तहको पढाइ ६ घण्टा हुने उल्लेख छ ।

‘भवनको समस्या थियो, त्यसैले बिहान पढाएका हौं,’ उनले भने, ‘बिहान पढाउँदा पनि राम्रो हुने रहेछ, दिउँसो जागिर खान खोज्नेलाई राम्रो भएको छ ।’ उनले विद्यार्थीले नै दिउँसो जागिर खोजी गरेको दाबी गरे । तर यहाँका शिक्षक नै अन्य विद्यालयको जिम्मेवार पदमा बसेर काम गरिरहेका छन् ।

सबै कक्षा दिउँसो चलाउन कोठा र शिक्षक दरबन्दी अभाव भएको कालिकाकन्या माविका प्रअ धनराज सापकोटाले बताए । ‘हाम्रोमा पढ्ने धेरैजसो मजदुर बालबालिका छन्, उनीहरू बिहान पढेर दिउँसो भारी खेप्न जान्छन्,’ उनले भने, ‘सबैले दिउँसै बनाए भने हामी जानै पर्ला ।’ सापकोटाले दिउँसो पढाउँदा अधिकांस बालबालिका अनुपस्थित हुने सम्भावना औंल्याए ।

प्रतिक्रिया दिनुहोस्