बागलुङ । दिलिसा (दिक्षा) भण्डारीको संस्कापद मृत्युलाई लिए उनका माइती पक्ष, आफन्त र शुभचिन्तक आन्दोलित भएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका-१ खहरे घर भएकी भण्डारीको संस्कापद मृत्युलाई लिए उनको न्यायका लागि दवाव दिन भन्दै सडकमा उत्रिँएका हुन्।
महिलाहरुले बागलुङको जिल्ला प्रशासन कार्यालय, धौलागिरि अस्पताललगाएत बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा हत्यारालाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बजारमा विरोधका कार्यक्रम भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
बागलुङ नगरपालिका-१० गलुवा माइत भएकी १८ वर्षीया दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउँदै दोसीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
मृतकका श्रीमान् १८ वर्षीया सुशान्त र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताए ।
मृतकका बुबा देवेन्द्रबहादुर भण्डारीले प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त दिएका छन् ।
जिल्ला अदालतले ४ दिनको म्याद दिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कँडेलले बताए।
शव पोष्टमार्टमको लागि पोखरा लाने वा धवलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबिच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाइ भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मृत्यु शंकास्पद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फोरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
भण्डारीको हत्या भएको दाबी गर्दै माइती पक्ष निरन्तर आन्दोलन गरिरहेका छन् भने शव धवलागिरि अस्पतालमा राखिएको छ ।
जेठ १ गते राति ७ बजेर ५० मिनेटमा दिलिसाले आत्महत्या गरेको परिवारको दाबी छ भने माइती पक्षले भने दिलिसाले आत्महत्या गरेको नभई हत्या भएको बताउँदै आएको छ। मृतकको शरीरको विभिन्न अंगमा निलडाम भएकोले हत्या भएको माइती पक्षको आरोप छ ।
आफ्ना श्रीमान र सासुले आफूलाई मानसिक यातना दिने गरेको छोरीले पहिले देखिनै गुनासो गरेको मृतककी आमाको भनाइ छ ।
मृतक भण्डारी बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविको कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताए ।
भण्डारीले गत मंसिरमा प्रेम विवाह गरेकी थिइन् । उनको मृत्युको पछाडि उनकी नन्दको भनिएको फेसबुक म्यासेन्जरको अडियो र भण्डारीले आफ्नी माइतीको आमालाई पठाएको अडियोको विषयलाई लिएर समाजिक संजालमा व्यापक टिका टिप्पणी भएको छ ।




















































































































































































































