बागलुङ । बागलुङ नगरपालिका–२ हाडेपाखास्थित आदर्श महिला समूहले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समूहले हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरेको रकम बाढीपीडितका लागि सहयोग गरेको हो।
समूहकी अध्यक्ष धनमाया शर्माले बिहीबार उक्त रकम जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई हस्तान्तरण गर्नुभयो।
रकम हस्तान्तरण गर्दै अध्यक्ष शर्माले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।

समूहकी सचिव निर्मला शर्मा अधिकारीले तीजको दर खाने कार्यक्रमका लागि संकलन गरिएको रकम विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले बाढीपीडितका लागि प्रदान गरिएको बताउनुभयो।
गत भदौ १० गते चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
विपत्तिपछि सर्वसाधारण, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
















































































































































































