बागलुङ । बागलुङ नगरपालिका–६ भिरलाङखुरी आमा समूहले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु २६ हजार १ सय आर्थिक सहयोग गरेको छ।
समूहले हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरेको रकम बाढीपीडितको सहयोगका लागि बिहीबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
समूहकी अध्यक्ष पूजा परियारले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका विभिन्न संघसंस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने समूहकी सल्लाहकार शान्ता नेपालीले बताउनुभयो।
समूहकी कोषाध्यक्ष सबिना परियारले तीजको दर खाने कार्यक्रमका लागि संकलन गरिएको रकम विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बताउनुभयो।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
विपत्तिपछि सर्वसाधारण, आमा समूह, युवा, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
















































































































































































