बागलुङ । बागलुङ नगरपालिका–३ गुठीस्थित सारथी महिला समूहले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समूहले मंगलबार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रकम सहयोग गर्दै समूहकी अध्यक्ष अमृता कार्कीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।
समूहकी सल्लाहकार अधिवक्ता लक्ष्मी बाँस्कोटाले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा सबै एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो।
हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरिएको रकम बाढीपीडित परिवारको सहयोगमा प्रयोग गरिएको समूहकी सचिव सरिता रायमाझीले बताउनुभयो।
गत भदौ १० गते चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
विपत्तिपछि सर्वसाधारण, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, संघसंस्था तथा विभिन्न दाताले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
















































































































































































