८ जेष्ठ २०८१, मंगलवार

 

विद्यालयमा प्रजनन स्वास्थ्य शिक्षा तालिम

बरेङ गाउँपालिकाले शिक्षक–विद्यार्थीलाई ‘किशोरी प्रजनन स्वास्थ्य शिक्षासम्बन्धी तालिम’ दिएको छ ।
बालज्योति अंग्रेजी बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा किशोरी प्रजनन स्वास्थ्य शिक्षा, तयारी खानेकुरा तथा लागूपदार्थ सेवन न्यूनीकरणसम्बन्धी ज्ञान दिइएको थियो । तालिममा स्कुलका शिक्षकशिक्षिका र विद्यार्थीसहित करिब ५५ जना सहभागी थिए ।
समाजमा बढ्दै गइरहेको लागूपदार्थ प्रयोग न्यूनीकरण, महिनाबारीमा किशोरी तथा महिलालाई हेर्ने समाजको नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख पदमबहादुर पुनले जानकारी दिए ।
विद्यालयतहका किशोरकिशोरीमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए ।
तालिममा सहजीकरण गर्दै पुनले महिनाबारी हुँदा समाजले हेर्ने दृष्टिकोण र व्यवहार विभेदपूर्ण रहेको बताए । महिनाबारीका बेला परिवार सदस्यसँग छोइन नहुने, पूजाआजा गर्न नहुने, खाना पकाउन नहुनेदेखि छाउगोठमा छुट्टै बस्नुपर्नेजस्ता परम्परा अज्ञान र अन्धविश्वासको उपज रहेको उनको भनाइ छ ।
‘महिनाबारी प्राकृतिक प्रक्रिया भएकाले समाजमा यसबारे चेतना जगाउनुपर्छ,’ पुनले भने, ‘महिनाबारी हुँदा सेनेटरी प्याड प्रयोग, दैनिक सरसफाइलगायतमा सावधानी अपनाउनुपर्छ ।’
इलाका प्रहरी कार्यालय बरेङडाँडाका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले युवा पुस्ता धुम्रपान, मद्यपान र लागुऔषधको कुलतमा फस्नाले व्यक्तिगत जीवन बिग्रिएको मात्र नभई सामाजिक रूपमा झैझगडा, बलात्कारजस्ता अपराध बढेको बताए ।
तालिममा सुआहारा कार्यक्रमकी फिल्ड सुपरभाइजर हरिमाया थापाले विद्यार्थीमा चाउचाउ, कुरकुरेजस्ता जंकफुड नियमित सेवन गर्ने बानीले विभिन्न रोग निम्त्याउने बताइन् । यसको दीर्घकालीन असरबारे चेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्