८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिर माविमा बेथिति

- कानुन पालना गर्न खोज्दा प्रअलाई अवरोध

नेपाल सरकार र स्थानीय तहले दिएको निर्देशन पालना गराउन खोज्दा बागलुङस्थित विद्यामन्दिर माविका प्रअ शान्तमणी ढकाललाई शिक्षकहरुले असहयोग गरेका छन् ।

सरकारले गत २०७३ असार १५ गतेदेखि उच्च मावि नरहने निर्णय गरेपनि शिक्षकहरुले उमाविकै शैलीमा विद्यालय चलाउन खोजेका हुन् । बागलुङ नगरपालिकाले कक्षा १ देखि १२ सम्म दिउँसोमा पढाउन दिएको निर्देशन पनि उनीहरुले टेरेका छैनन् । प्रअ ढकालले दिउँसोमा विद्यालय चलाउन गरेको प्रस्तावसमेत उनीहरुले अस्विकार गरेका छन् ।

हाल विद्यामन्दिरमा कक्षा ११ र १२ का धेरैजसो कक्षाहरु बिहानमा चलीरहेको छ । प्रअ ढकालले ल्याएको प्रस्तावमा उनीहरुले अस्विकार मात्र नभई अमर्यादित व्यवहारसमेत गरेका हुन् ।

‘सरकारी निर्देशन पालना गरौं भन्दा शिक्षक साथीहरु मानिरहनु भएको छैन’ उनले भने, ‘बारम्बार शिक्षकहरु बैठक बसेर नगरपालिकाको निर्णय पालना नगर्न जुट्नु भएको छ।’ नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले पटकपटक ऐन बमोजिम विद्यालय चलाउन भन्दै विद्यामन्दिर मावि र सदरमुकामकै कालिका कन्या माविमा पनि पत्र पठाईरहेका छन् ।

दिउँसोमा अध्यापन गराउँदा बालबालिकाले पुरा समय पढ्न पाउने र पढाईको गुणस्तरसमेत राम्रो हुने शिक्षाविदहरु बताउँछन् । शिक्षा विभागले पनि विज्ञहरुको सल्लाहमा केही समय अघिनै यस्तो निर्णय गरेको थियो । बागलुङका केही निजी विद्यालयले पनि कक्षा ११ र १२ लाई बिहानमा संचालन गरिरहेका छन् । नयाँ भर्ना खुलाएको सूचनामा भने बिहान र दिउँसो खुलाएका छैनन् ।

सरकारी कोषबाटै दोहोरो तलब र भत्ता

विद्यामन्दिरमा हाल बिहान कक्षा संचालन हुँदा २२ जना शिक्षकले पढाएर दिउँसो विभिन्न विद्यालयमा पुग्ने गर्छन् । विद्यामन्दिर माविमा बिहान कक्षा लिने प्रकाशप्रसाद सापकोटा धौलागिरी बहुमुखी क्याम्पसको विज्ञान संकायको प्रमुख हुन् । तर क्याम्पसमा पनि विज्ञान विषय बिहानै पढाई हुन्छ । पर्वतको पाङस्थित पाङ धैरेनी माविका प्रअ गुणराज शर्मा बिहान विद्यामन्दिर पढाउँछन् र दिउँसो मात्र आफ्नो विद्यालय धाउँछन् ।

त्यस्तै भीमसेन क्याम्पसका प्रमुख बालकृष्ण कँडेल बिहान विद्यामन्दिर पढाएर मात्र दिउँसो आफ्नो क्याम्पस पुग्ने गरेका छन् । भीमसेन माविकै प्राविधिक शिक्षा विभाग संयोजक ज्ञानेन्द्र गौतम पनि बिहान विद्यामन्दिर पढाएपछि मात्र उता लाग्छन् । सदरमुकामकै रुद्रे पिपल माविमा प्रअ राजेश श्रेष्ठले पनि बिहान यहाँ पढाईरहेका छन् ।

‘जुन संस्थाको पूर्णकालिन शिक्षक हो, त्यो संस्थामा पिरियड नलिएपनि पुरा समय बस्नैपर्छ’ शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले भने, ‘कानूनले कुनैपनि अतिरिक्त भत्ता खाने र खाली पिरियड पाएर अन्यत्र दर्गुर्ने पद्दती राखेको छैन ।’

निजी विद्यालयका संचालक, स्थायी शिक्षक, सरकारी कर्मचारी र धौलागिरी बहुमुखी क्याम्पसका पूर्णकालिन शिक्षकसमेत यहाँ पढाउने र पूर्ण तलब खाने गर्छन् । विज्ञान संकायमा पढाउने शिक्षकले नियमित तलबबाहेक अंग्रेजी र नेपाली विषय पढाएको प्रति पिरियड ६ सय थप भत्ता समेत खाएका छन् । उमावि इन्चार्ज भएर शिक्षक मनोज रोकाले मावि द्वितीय श्रेणीको तलबसहित थप १८ हजार रुपैयाँ बुझ्छन् । त्यसमाथि उनको साढे ३ पिरियड पढाएको २८ हजार रुपैयाँ छुट्टै तलब छ । उनीलगायत चार शिक्षकले पनि थप भत्ता खाएका छन् ।

शिक्षक रोकासहित प्रकाशप्रसाद सापकोटा, यामबहादुर पोखरेल र विष्णु काफ्लेले विज्ञान भत्ता २ हजार ४ सय, अन्य भत्ता १ हजार ८ सय , अतिरिक्त भत्ता २ हजार ९ सय र ल्याब व्वाई भत्ता ३ हजार रुपैयाँ गरेर थप १० हजार १ सय रुपैयाँ पनि गैरकानूनी ढंगले खाई रहेका छन् । अतिरिक्त भत्ता खाएको विषयमा सापकोटाले सरकारले दिएको भत्ता खान नमिलेपछि व्यवस्थापन समितिबाट निर्णय गरेर विद्यार्थीबाट उठाएर स्थानीय श्रोतमा खाएको दावी गरे ।

शिक्षक रोकाले समितिले जिम्मा दिएको काम गरेर तलब खाएको दावी गरे । ‘धेरै अघिको निर्णयमा मैले पनि खाएको हुँ’ रोकाले भने, ‘समितिले खान दिन्न भन्यो भने म तयार छु ।’ प्रअ ढकालले नियमित तलबबाहेकका भत्ताहरु कहिले देखि कुन आधारमा शुरु भयो खोजी गरिरहेको बताए । ‘कहिले देखि कुन आधारमा भत्ता दिन थालियो बुझेपछिमात्र थप निर्णयमा पुग्छु’ ढकालले भने, ‘पुराना निर्णय र स्रेस्ता खोजीरहेको छु ।’

प्रअबाहेक अरु शिक्षकको पनि खाता

हरेक विद्यालयमा प्रअ र व्यवस्थापन समितिको अध्यक्षको हस्ताक्षरमा बैंक खाता हुने गर्छ । मावितर्फ अध्यक्षले समय दिन नसकेको खण्डमा लेखापाल र प्रअको हस्ताक्षरमा खाता संचालन गर्ने नियम छ । तर विद्यामान्दिर माविको ३ वटा खातामा शिक्षक रोकाकै हस्ताक्षर चल्छ । राष्ट्रिय वाणिज्य बैंक बागलुङ शाखा, ग्रिन डेभलपमेन्ट बैंक बागलुङ र प्रगति सहकारीमा रोकाको हस्ताक्षरको खाता छ । बागलुङ नगरपालिकाले पटक पटक पत्र पठाएर हरेक विद्यालयमा एकमात्र खात संचालन गर्न निर्देशन दिएको छ ।

नेकपाको कार्यालयमा डेलिगेसन

बागलुङ नगरपालिकाले पटक पटक पत्र पठाएर दिउँसो कक्षा संचालन गर्न निर्देशन दिएपछि अटेर गरिरहेकै बेला बिहान पढाउने शिक्षकले राजनीतिकरुपमा दवाबसमेत दिन थालेका छन् ।

विद्यामन्दिरका २२ जना शिक्षकले शुक्रबार गण्डकी प्रदेशका सांसद तथा नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैह्रेसहित नगर अध्यक्ष धनबहादुर परियार तथा सचिव इन्द्र केसीलाई भेटेका छन् । उनीहरुले नगरप्रमुख जनकराज पौडेललाई दवाब दिएर यस अघिको निर्देशनात्मक पत्र फिर्ता गराउन पहल गरेका हुन् । सापकोटासहित नेकपाका पदाधिकारीलाई उनीहरुले दवाब दिइरहेका छन्।

पार्टी र शिक्षकको छलफलपछि नगरपालिकालाई दवाब दिन पाँच सदस्यीय वार्ता टोलीसमेत गठन भएको छ । टोलीमा शिक्षक प्रकाश शर्माको नेतृत्वमा, मनोज रोका, गंगा शर्मा, थानेन्द्र गौतम र प्रअ शान्तमणी ढकाल रहेको डेलिगेसनका एक सदस्यले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले नमूना विद्यालय बनाउन अध्यक्ष बनेर आएको बताए । उनको अध्यक्षकालमै पूर्व विद्यार्थी र शिक्षा प्रेमीको सहयोगमा करोडौं सहयोग संकलन गरेर ५० भन्दा धेरै अत्याधुनिक कोठासहितको भवन निर्माण भएको छ । ‘भवन निर्माणजस्तै गुणस्तरीय शिक्षामा पनि फट्को मार्ने योजना लिएर आएको थिएँ, तर आन्तरिक बेथितीमा अल्झनु पर्‍यो’ उनले भने, ‘बेथिती अन्त्यको काम थालिरहेको छु ।’  बेथिती अन्त्यकै लागि काम गर्न खोज्दा धेरै अवरोध र असहयोग भएको उनले बताए । ‘दशकौंदेखिको बेथितीलाई नियमन गर्न खोजेको हुँ, हैरान परिसकेको छु ।’ सबै सरोकारवालाको सहयोगमा कानून मिच्ने प्रवृत्ती अन्त्यको लागि काम अगाडि बढाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्