४ जेष्ठ २०८१, शुक्रबार

 

गैरकानुनी भत्ता खाने र दिउँसो कक्षा नचलाउनेलाई कारबाही गरिन्छ : शिक्षानिर्देशक सिलवाल

- कक्षा ११ र १२ दिउँसो चलाउन अटेरी, दोहोरो तलब सुविधा लिएर राज्यकोष दोहन

सरकारले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तहमा समेटे पनि बागलुङको विद्यामन्दिरका  शिक्षकले राज्यकोष दोहन गर्दै उच्च माविकै संरचनामा पढाइरहेको छ । दुईतिर पढाएर तलबभत्ता बुझ्न पल्किएका शिक्षकहरूको दबाबमा विद्यालयले मावि तहका सम्पूर्ण कक्षा दिउँसो चलाउनुपर्ने सरकारी निर्णय कार्यान्वयन गर्न सकेको छैन ।

गैरकानुनी भत्ता खाए र दिउँसो कक्षा नचलाए छानबिन गरी कारबाही गरिन्छ  – शिक्षानिर्देशक  सिलवाल

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षानिर्देशक तिलकप्रसाद सिलवालले शिक्षकले अतिरिक्त कुनै पनि प्रकारका भत्ता खान नपाउने बताए । ‘तोकिदिएका केही भत्ताबाहेक पढाएकै छुट्टै तलब र भत्ता खान मिल्दैन,’ उनले भने, ‘त्यो छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।’ शिक्षा मन्त्रालयको निर्णयविपरीत बिहानमा कक्षा चलाउन नपाइने उनले बताए ।छुट्टै तलब र भत्ता खाने, विहान कक्षा चलाउँने, गैरकानुनी रूपमा खातामा हस्ताक्षर चलाउन कानुनी कारबाहीको दायरमा ल्याइन्छ । । त्यस्तो खाता चलाउनेलाई प्रशासनबाटै कारवाही प्रक्रिया अगाडि बढाउन सकिने उनले बताए ।

विद्यामन्दिरमा अध्यापन गराउने ३१ जना धौलागिरि बहुमुखी क्याम्पससहित जिल्ला र बाहिरका विद्यालयका स्थायी तथा अन्य प्रकृतिका शिक्षक हुन् । उनीहरूले पारिश्रमिक, तलब र भत्ताका नाममा राज्यकोषबाट दोहोरो सुविधा लिइरहेका छन् । नियमित तलबबाहेक मासिक लाखौं रकम त्यस्ता शिक्षकलाई भत्ता दिँदैमा सकिएको व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

अरु विद्यालय , क्याम्पस र सरकारी कर्मचारीलाई विममावि दिउँसो पढाउँदा उनीहरुले खाईपाइ आएको सुविधा र गैरकानुनी भत्ता खोसिने भएकोले उहाँहरुले दिउँसो पढाउँन अटेर गरेर सरकारी निर्णय र त्यहाँ पढ्ने ८ सय विद्यार्थीको शैक्षिक भविष्य खतम पार्न लागेका छन बागलुङ नगरपालिकाका शिक्षा अधिकारी दण्डपानी शर्माले नयाँविश्वलाई बताए ।

दोहोर सुविधा लिने क्याम्पसका शिक्षकहरु

विद्यामन्दिरमा अझै उच्च मावि संयोजकको तलब खाइरहेका मनबहादुर रोका धौलागिरि बहुमुखी क्याम्पसका भौतिक शास्त्र संकायका आंशिक शिक्षक हुन् । विद्यामन्दिरमा कक्षा ११ र १२ को दरबन्दी शिक्षकका रूपमा बिहान साढे ३ पिरियड पढाएबापत उनी मावि द्वितीय तहको २८ हजार रुपैयाँ तलब खान्छन् ।कक्षा ११ र १२ को संयोजक भत्ता १८ हजार रोकाले लिइरहेको छ ।

क्याम्पसमा आंशिक शिक्षकका रूपमा कार्यरत विष्णु काफ्ले र यामबहादुर पोखरेल पनि विद्यामन्दिरमा मावि द्वितीय तहको तलब खाने दरबन्दी शिक्षक छन् । यी तीनसहित प्रकाशप्रसाद सापकोटाले नियमित तलबबाहेक ४ थरी भत्ता गरी १० हजार खान्छन् ।

धौलागिरि बहुमुखी क्याम्पसका प्रकाशप्रसाद सापकोटा करार शिक्षक भए पनि विज्ञान विभागका संयोजक हुन् । उनी क्याम्पसको नियमित तलबबाहेक ५ हजार भत्ता खान्छन् । समाजशास्त्र–मानवशास्त्र अध्यापन गराएर क्याम्पसबाटै मावि तृतीय श्रेणीको तलब स्केल २९ हजार रुपैयाँ बुझ्छन् ।

उनी धौलागिरि बहुमुखी क्याम्पसका दुईवटा विभागमा गरी १२ विषय अध्यापन गर्छन् । विज्ञानतर्फ १० पिरियड पढाएबापत प्रतिपिरियड ६ हजार ५ सय रुपैयाँको दरले स्थानीय स्रोतबाट तलब खान्छन् ।

क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायका अनुसार आंशिक शिक्षकले स्नातकोत्तरमा प्रतिपिरियड ४ सय रुपैयाँ र स्नातक तहमा ३ सय रुपैयाँ मात्र पारिश्रमिक पाउने व्यवस्था छ । उच्च माविको विज्ञान शिक्षकका नाताले विद्यामन्दिरमा अधिकांश शिक्षकले गैरकानुनी ढंगले प्रतिपिरियड ६ सय रुपैयाँ भत्ता बुझ्छन् ।

अन्य विद्यालयको प्रअहरु जस्ले आफनै विद्यालयको गुणस्तर चौपट पार्दै

गुणराज शर्मा पर्वतको पाङधैरेनी माविका प्रअ हुन् । बिहान साढे १० बजेसम्म विद्यामन्दिरमा पढाउनुपर्ने उनी खाना खाएर पाङ पुग्दा १२ बज्छ । यति ढिला विद्यालय पुग्ने प्रअले व्यवस्थापन गर्न कसरी भ्याउँछ भनी अन्य शिक्षकहरू टिप्पणी गर्छन् ।

बिहुँस्थित भीमसेन माविका प्रअ बालकृष्ण कँडेल र रुद्रे पीपल माविका प्रअ राजेश श्रेष्ठ पनि विद्यामन्दिरमा साढे १० बजेसम्म पढाउने शिक्षक हुन् । कक्षा ११ र १२ का संयोजक डिल्ली उपाध्याय र प्राविधिक धार प्रमुख ज्ञानेन्द्र गौतम पनि विद्यामन्दिर पढाएपछि मात्र ढिला गरी भीमसेन मावि धाउँछन् । उनीहरू समयमा विद्यालय नपुग्दा विद्यार्थीको पढाइ चौपट भइरहेको अभिभावकको गुनासो छ ।

मालिका माविका स्थायी शिक्षक मधुसुधन रेग्मी, लहरे पीपल माविका श्यामप्रसाद शर्मा र धिमिकरिना माविकी निरुपमा थापा पनि विद्यामन्दिर पढाएर आफ्नो विद्यालय धाउने गर्छन् ।

क्याम्पसका उपप्राध्यापक शर्मा नेकपा बागलुङले बनाएको वार्ता टोलीको प्रमुख

धौलागिरि बहुमुखी क्याम्पसका स्थायी उपप्राध्यापक कुलप्रसाद अधिकारी र प्रकाश शर्मा विद्यामन्दिरमा  आएर कक्षा लिने गर्छन् । कक्षा ११ र १२ दिउँसो पढाउने बागलुङ नगरपालिकाको निर्णय फिर्ता लिन दबाब दिन शिक्षकहरूले बनाएको समूहका संयोजक हुन् शर्मा ।

स्थायी उपप्राध्यापकको नेतृत्वमा दबाब समूह बनाउन नमिल्ने क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘विज्ञको रूपमा सहयोग गरेको भए मिल्छ, उपप्राध्यापकको हैसियतले पार्टी कार्यालयमा दबाब दिन जानुपर्ने आवश्यकता हैन,’ उनले भने, ‘उहाँले नैतिकता र आचारसंहिता आफैं विचार गर्नुपर्छ ।’

विममाविमा विहानी कक्षाको नाममा लुृट

विद्यामन्दिरमै दिउँसो कक्षा लिने शिक्षकले पनि बिहान पढाएर अवैधानिक रुपमा प्रतिपिरियड ८ हजार ८ सय रुपैयाँ भत्ता खाइरहेका छन् ।

जिल्ला अन्तर्गतका विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्यापन गर्ने दरबन्दि बाहिरका आंशिक शिक्षकलाई दिने प्रति पिरियडवापतको रकममा विद्यालयअनुसार भिन्नता पाइएको छ। बानपा-३ मुलपानी मावि, मुलपानीका प्रअ चुडामणि सुवेदीले कक्षा ११ र १२ लाई पढाउने आंशिक शिक्षकलाई खाजा शीर्षकमा प्रति पिरियड ३ हजार रुपैयाँ दिने गरिएको बताए।

त्यस्तै वानपा ८ स्थित सिगाँना मावि, सिगाँनाका प्रअ गोपाल शर्माले उक्त प्रकृतीका शिक्षकलाई प्रति पिरियड ५ हजार २ सय दिने गरिएको जानकारी गराए भने बानपा-३ नयाँ बजारस्थित कालिका कन्या मावि प्रअ धनराज सापकोटाले प्रति पिरियड ४ हजार दिने गरेको खुलाए।

त्यस्तै ताराखोला गाउँपालिका-४, तारा गाउँस्थित नेपाल माविले भने प्रति पिरियड ३ हजार ५ सय दिने गरेको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्री ‘दिवस’ले बताए। ताराखोला गाउँपालिका-३ हिलस्थित हरि माविले प्रति पिरियड १ हजार दिने गरेको प्रअ हरिप्रसाद पौडेलले बताए। विद्यामन्दिर माविबाहेकका यी अन्य विद्यालयहरुले भने लामो समयदेखि दिउँसोको समयमा नै कक्षा ११ र १२ अध्यापन गराईरहेका छन्।

यी हुन् बिहान र दिउँसो दुबै समय पढाउने विद्यामन्दिर मावि स्थायी शिक्षक

१. शान्तामणि ढकाल : प्रअ विद्यामन्दिर मावि

२. मुकुन्दप्रसाद शर्मा : विद्यामन्दिर मावि स्थायी शिक्षक

३. कुलराज शर्मा : विद्यामन्दिर मावि स्थायी शिक्षक

४. राजेश शर्मा : विद्यामन्दिर मावि स्थायी शिक्षक

५. गंगाकुमारी शर्मा : विद्यामन्दिर मावि निमावि स्थायी शिक्षक

६. छविरमण रेग्मी : विद्यामन्दिर मावि स्थायी शिक्षक

यी हुन् विद्यामन्दिर माविमा पढाउँने अन्यत्रका शिक्षक

१. मनबहादुर रोका (मनोज रोका) : धौलागिरि बहुमुखी क्याम्पस– आंशिक, भौतिक शास्त्रको शिक्षक, विद्यामन्दिर मावि– ११, १२ कक्षाको                                                       दरबन्दी शिक्षक

२. विष्णु काफ्ले : धौलागिरि बहुमुखी क्याम्पस, आंशिक शिक्षक

३. यामबहादुर पोखरेल : धौलागिरि बहुमुखी क्याम्पस, आंशिक शिक्षक

४. प्रकाशप्रसाद सापकोटा : धौलागिरि बहुमुखी क्याम्पस करार शिक्षक, विज्ञान संयोजक, समाजशास्त्र स्नातकोत्तर शिक्षक

५. डिल्लीराज उपाध्याय : भीमसेन मावि ११ र १२ कक्षाको दरबन्दी शिक्षक

६ खगराज शर्मा : धौलागिरि बहुमुखी क्याम्पसको आंशिक शिक्षक

७. गुणराज शर्मा : प्रअ पाङ धैरनी मावि, पर्वत

८. मधुसुधन रेग्मी : मालिका मावि स्थायी शिक्षक

९. कुलप्रसाद अधिकारी : धौलागिरि बहुमुखी क्याम्पस शिक्षा विभाग प्रमुख

१०. बालकृष्ण कँडेल :  भीमसेन मावि स्थायी शिक्षक

११. केशवप्रसाद पौडेल : धौलागिरि वीरेन्द्र मावि स्थायी शिक्षक

१२. राजेश श्रेष्ठ : प्रअ रुद्रपीपल मावि

१३. ज्ञानेन्द्र गौतम : भीमसेन माविको ११ र १२ कक्षाको दरबन्दी शिक्षक, धौलागिरि बहुमुखी क्याम्पसको आंशिक शिक्षक

१४. रवीन्द्र पौडेल : धौलागिरि बहुमुखी क्याम्पसको आंशिक शिक्षक

१५. लखन थापा : धौलागिरि बहुमुखी क्याम्पसको आंशिक शिक्षक

१६. शिवशरण ज्ञवाली : धौलागिरि बहुमुखी क्याम्पसको स्थायी उपप्राध्यापक

१७. निरुपमा थापा : धिमी–करिना माविको शिक्षक

१८. सरस्वती शर्मा : धौलागिरि बहुमुखी क्याम्पसको आंशिक शिक्षक

१९. तेजप्रसाद निउरे : अधिकृत खानेपानी डिभिजन कार्यालय गण्डकी प्रदेश , बागलुङ

२०. प्रकाश शर्मा : धौलागिरि बहुमुखी क्याम्पसको स्थायी उपप्राध्यापक

२१. कुलप्रसाद सापकोटा : धौलागिरि बहिरा आवासीय माविको शिक्षक

२२. विष्णुप्रसाद शर्मा : स्वास्थ्य, आंशिक शिक्षक विद्यामन्दिर मावि, कानुन व्यवसायी

२३. श्यामप्रसाद पौडेल : लहरेपीपल मावि दरबन्दी शिक्षक

२४. प्रतिभा सुवेदी : रामरेखा निमाविको स्थायी शिक्षक

 

प्रतिक्रिया दिनुहोस्